नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका मकवानपुर इन्चार्ज मनहरी गाउँपालिका–७ निर्मलबस्तीका वीरबहादुर घलान (ज्वाला) र उनका सहयोगी वीरबहादुर मुक्तानलाई प्रहरीले चैत २८ गते गिरफ्तार गरेको छ ।
हेटौँडा उपमहानगरपालिका–८ फायरलाइनमा सवारी साधन चेकिङ गर्ने क्रममा मोटरसाइकलमा रहेका दुवैजनालाई प्रहरीले गिरफ्तार गरेको मकवानपुर जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर विक्रम राणाले बताए ।
तत्कालीन माओवादी जनमुक्ति सेनाका कमान्डर रहेका घलान भिडन्तमा गोली लागेपछि उपचारका क्रममा भारत जाँदा उनलाई भारतीय प्रहरीले अस्पतालबाटै गिरफ्तार गरी लामो समयसम्म थुनामा राखेको थियो ।
२०६४ सालको संविधानसभाको निर्वाचनताका रिहा भएका उनी यसअघि मोहन बैद्य नेतृत्वको माओवादीमा संलग्न गरेका थिए ।
यसअघि मकवानपुर प्रहरीले नेकपाका अन्य तीन जना कार्यकर्तालाई विभिन्न मितिमा गिरफ्तार गरी हिरासतमा राखेको छ ।
जसमा सो पार्टीको युवा सङ्गठनका हेटौँडा नगर इन्चार्ज विराम प्रजा, कार्यकर्ता राजकुमार कुँवर र अखिल क्रान्तिकारी मकवानपुरका कोषाध्यक्ष किरण अर्याल रहेको इन्स्पेक्टर राणाले बताए ।