पञ्चेश्वर गाउँपालिकाका अध्यक्ष ५० वर्षीय गोरखबहादुर चन्दलाई चैत १९ गते आक्रमण गरेको आरोपमा प्रहरीले स्थानीय ५२ वर्षीय बलबहादुर भण्डारी, २२ वर्षीय वीरेन्द्र भण्डारी र २७ वर्षीय हिक्मत भण्डारीलाई चैत २० गते गिरफ्तार गरेको छ ।
पञ्चेश्वर गाउँपालिका–६ रोडीमा खनिन लागेको सडकको विवाद मिलाएर गाउँपालिका कार्यालयतर्फ फर्किरहेका चन्दमाथि गर्मामाथिको जङ्गलमा आक्रमण गरेको आरोपमा अनुसन्धानका लागि आरोपितहरूलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी नेत्रमणी गिरीले बताए ।
आक्रमणबाट लुगा च्यातिएको र भिरमा फाल्न प्रयास समेत भएको पीडित गोरखबहादुर चन्दको भनाई छ । आक्रमणबाट अध्यक्ष चन्दको लुगा च्यातिनुका साथै शरीरमा निलडाम समेत देखिएको छ ।
गाउँपालिका अध्यक्षलाई आक्रमण गर्दा छुटाउने क्रममा पञ्चेश्वर गाउँपालिका ४ नं. वडाका वडा अध्यक्ष ५५ वर्षीय राजबहादुर चन्द, वडा नम्बर ६ का सदस्य ४५ वर्षीय कृष्णसिंह भण्डारी र ४० वर्षीय गोविन्द भण्डारीमाथि पनि आक्रमण भएको पीडित पक्षले आरोप लगाएको छ ।