INSEC Online

📅 २०८३ जेष्ठ २१

स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला नहुँदा बिरामीहरुलाई सास्ती

६८ ओटा स्वास्थ्य संस्था रहेको बैतडी जिल्लाका अधिकांश स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला नहुँदा बिरामीहरुले सास्ती भोग्नुपरेको छ ।

धेरै प्रकारका बिरामी जाँचका लागि रगत, खकार, दिसा, पिसावलगायत परीक्षण अनिवार्य भएपनि स्वास्थ्य संस्थाहरुमा प्रयोगशाला नहुँदा बिरामीहरुले सास्ती भोग्नुपरेको हो ।

विभिन्न स्थानीय तहमा गरी ८४ ओटा वडा रहेको यस जिल्लामा ६८ स्वास्थ्य संस्थाहरुमध्ये आठ ओटा स्वस्थ्य संस्थाहरुमा मात्रै प्रयोगशाला रहेको र ति प्रयोगशालाहरुमा पनि सबै प्रकारका परीक्षण नहुने गरेको जिल्ला जनस्वास्थ्य डिभिजन कार्यालय बैतडीका प्रमुख नीशा जोशीले बताइन् ।

“बिरामीको रोग पहिचानका लागि प्रयोगशाला अनिवार्य भएपनि हाम्रो जिल्लाका स्वास्थ्य संस्थाहरुमा प्रयोगशालाहरुको अभाव छ ।”-उनले भने-“जसका कारण बिरामीहरुले एक–दुई दिन यात्रा गरेर सदरमुकामस्थित जिल्ला अस्पतालमा आउनुपर्ने बाध्यता छ ।”

जिल्ला अस्पताल बैतडी, प्राथमिक स्वास्थ्य केन्द्र पाटन, प्राथमिक स्वास्थ्य केन्द्र मेलौली, ग्वाल्लेक स्वास्थ्य चौकीलगायतका आठ ओटा स्वास्थ्य संस्थाबाहेक कुनैमा पनि प्रयोगशाला छैन ।

स्वास्थ्य संस्थामा प्रयोगशाला नहुँदा सामान्य बिरामी पहिचानका लागि पनि जिल्ला अस्पताल बैतडी जानुपर्ने बाध्यता रहेको मेलौली नगरपालिका ३ का राजेन्द्र चन्दको भनाई छ ।

स्वास्थ्य संस्थामा प्रयोगशाला नहुँदा विषेश गरी क्षयरोगका बिरामीहरु समस्यामा परेका छन् । नेपाल सरकाले क्षयरोगको पहिचान गरी निशुल्क उपचारका साथै सन् २०३५ सम्ममा क्षयरोग अन्त्यको अभियान सञ्चालन गरेको भएपनि प्रयोगशाला नहुँदा बिरामीहरुको पहिचान हुन नसकेको जनस्वास्थ्य डिभिजन कार्यालयका सूचना अधिकारी भुवन जोशीले बताए ।

स्वास्थ्य संस्थामा प्रयोगशाला स्थापना गरी स्थानीय स्वास्थ्य संस्थामै आफूहरुको रोग पहिचान हुनुपर्ने स्थानीयको माग छ ।

अन्य

भिडियो