कालिकोटमा रहेको एक मात्र अस्पतालमा एक महिनादेखि औषधिको अभाव भएको छ । यहाँ आउने बिरामीहरुका लागि आवश्यक औषधि नहुदा सुर्खेत नेपालगन्ज दुःख पाउनु परिरहेको हो ।
अस्पतालमा औषधि अभाव भएपछि सामन्य सिटामोल पनि चर्को मूल्यमा निजी मेडिकलबाट खरिद गर्नु पर्ने बाध्यता रहेको छ ।
औषधिको अभाव हुँदा सामान्य सिटामोल, जिवनजल पनि निजी मेडिकलहरुबाट खरिद गरेर बिरामीलाई दिनु परेको अस्पतालद्वारा सञ्चालित फर्मेसीमा कार्यरत पुष्कर शाहीले बताउँछन् ।
शाहीका अनुसार अस्पतालको फार्मेसीमा एन्टिबायोटिक, दमका बिरामीहरुका लागि चाहिने विटाटु, विकामियम, पिसाप पोल्ने बिरामीहरुका लागि चाहिने अल्कालाइजरलगायतका दैनिक आवश्यक पर्ने औषधि अभाव छ ।
क्षेत्रीय मेडिकल स्टोर नेपालगंजमा औषधि माग गरेको महिनौँ भइसक्दा पनि नआउँदा समस्या भएको जिल्ला अस्पताल कालिकोटका निमित्त प्रमुख डाक्टर भिष्म पोख्रेलको भनाइ रहेको छ ।
‘लिखित र मौखिम माग गर्दागर्दै थाक्यौँ ।’उनले भने‘अब दिक्क लागेर ताकेता गर्न पनि छाड्यौँ ।’ यो अस्पताल अहिले प्रदेश महातहत राखिएको पनि पोख्रेलले बताए ।
जिल्ला अस्पतालमा बिरामी बोक्ने एम्बुलेन्स पनि छैन । १५ बाट ५० शैयामा अस्पतालको स्तरोन्नितका लागि भवन निर्माण कार्य सुरु गरिए पनि हाल सागुरो जीर्ण भवनमा बिरामीलाई सेवा दिन निकै कठिनाइ भएको छ ।
ज्वोरोले सताएर जिल्ला अस्पताल पुगेका खाडाचक्र नगरपालिका–९ पाँखाका बिरामी धनबहादुर विष्ट औषधिको अभाव भएपछि हजारौँ खर्च गरेर सुर्खेत जान बाध्य भएका छन् ।
अस्पतालले सञ्चालन गरेको फार्मेसीमा समेत औषधि छैन । स्वास्थ्य कार्यालयले उपलब्ध गराउँदै आएको औषधि सकिएको महिनौ बित्दा समेत उपलव्ध भएको छैन ।
राज्यले कर्णाली क्षेत्रको लागि निशुल्क स्वास्थ्य सेवा भने पनि चर्काे मूल्य तिरेर सामान्य औषधि खरिद गरेर सेवन गर्नु परिरहेको छ ।
प्रत्येक स्थानीय तहमा २० लाख रुपियाँको हाराहारीमा औषधिका लागि बजेट गएको भएपनि दुरुपयोग भइरहेको छ ।
अहिलेसम्म कुनै पनि स्थानीय तहले औषधि खरिद गर्न टेण्डर गरेका छैनन् । टेण्डरका लागि लामो प्रक्रिया लाग्ने भएकाले छोटो प्रक्रियाबाट २ र ३ लाख रुपियाँको औषधि खरिद गर्न लागेको शान्नि त्रिवेणी गाउँपालिकाका प्रशासकीय अधिकृत नारायण खड्काले बताए ।