नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्याल र सदस्य बिजयकुमार बौडेलमाथि आक्रमण घटनामा संलग्न तीन जनालाई प्रहरीले चैत १५ गते गिरफ्तार गरेको छ ।
तानसेन नगरपालिकाले गत फागुन १५ गते तानसेनको होलाङदीदेखि ढुंगाखानी सडक केन्द्रदेखि दायाँबायाँ १०–१० मिटर चौडा पार्ने निर्णय गरेपछि पाल्पाका पत्रकारहरूले समाचार प्रकाशन प्रशारण गरेको विषयलाई लिएर स्थानीय बासिन्दाको नाममा बाटो चौडा बनाउन नदिने भन्दै बावुराम विष्ट, शैलेन्द्र भट्टराई र लक्ष्मण रेग्मी लगायतको समूहले पत्रकारद्वयमाथि चैत १५ गते दिउँसो तानसेन नगरपालिका कार्यालय अगाडि आक्रमण गरेका थिए ।
आक्रमणमा संलग्न तीनै जनालाई गिरफ्तार गरिएको र थप अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय पाल्पाका एसपी बिश्वमणी पोखरेलले बताए ।
घटनाको विषयलाई लिएर महासंघद्वारा विज्ञप्ति जारी
घटनाको निन्दा गर्दै नेपाल पत्रकार महासंघ पाल्पा शाखाले चैत १५ गते एक प्रेस बिज्ञप्ति जारी गरेको छ ।
नेपाल पत्रकार महासंघ पाल्पा शाखाका अध्यक्ष राजेशकुमार अर्याल, शाखाका सदस्य विजयकुमार बौडेललगायतका पत्रकारहरूलाई समाचार संकलनका क्रममा हातपात गरी ज्यान मार्ने प्रयास गरेको घटनाप्रति नेपाल पत्रकार महासंघ पाल्पा लगायत पाल्पाका सम्पूर्ण संचारकर्मीहरू घोर भत्र्सना गर्दछौँ ।
सूचना संकलन तथा प्रकाशन प्रशारण निर्वाध रुपमा गर्न पाउने प्रेस स्वतन्त्रतामाथिको ठाडो हस्तक्षेप निन्दनीय कदम हो ।
यसर्थ निहत्था संचारकर्मी माथि हातपात गर्ने र ज्यान मार्ने धम्की समेत दिने उपर आवश्यक कानुनी कारबाही गर्न साथै पाल्पाली संचारकर्मीहरुको ज्यानको सुरक्षा र अभिव्यक्ति स्वतन्त्रताको रक्षाको लागि प्रहरी प्रशासनलगायत सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदछौँ । महासंघका उपाध्यक्ष भरत शर्मा र सचिव किरण कौशलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
तानसेन नगरपालिकाले बजार क्षेत्रको होलांगदीदेखि ढुंगाखानीसम्म झण्डै ४ किलोमिटर सडकमा दायाँबायाँ १० । १० मिटरका घर टहरा भत्काउने निर्णय गरेपछि प्रभावितहरु आन्दोलनमा रहेका छन् ।