INSEC Online

📅 २०८३ जेष्ठ २२

स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न

राष्ट्रिय मानव अधिकार आयोग र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको संयुक्त आयोजनामा स्वास्थ्य क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय विषयक अन्तरक्रिया कार्यक्रम चैत १५ गते धनगढीमा सम्पन्न गरिएको छ ।

सुदुरपश्चिम प्रदेश समाजिक विकास मन्त्रालयका नरेन्द्रसिंह कार्कीले स्वास्थ्य अधिकारको संरक्षण गर्नका लागि मन्त्रालयले आफ्ना धेरै जसो कार्यक्रमहरू स्थानीय तह र स्तरमा नै केन्द्रीत गरेको बताउँदै बजेट अभावका कारण प्रयाप्त मात्रामा नागरिकहरूको स्वास्थ्य अधिकारको प्रत्याभूति गर्न नसकिएको बताए ।

स्वास्थ्य बिमा वोर्ड सुदूरपश्चिम प्रदेश कार्यालयका जिल्ला प्रवन्धक नरेश चौधरीले विगतका दिनमा स्वास्थ्य बिमा बाध्यकारी नभएको भएपनि हाल स्वास्थ्य बिमालाई अनिवार्य बनाइएकाले आम नागरिकहरूले बिमाको महत्वलाई बुझ्न आवश्यक भएको बताए ।

निसर्ग अस्पतालका अध्यक्ष तर्थराज पाण्डेले सरकारी अस्पतालमा उपचार गर्न नसकिने बिमारीहरूलाई प्राइभेट अस्पतालबाट उपचार दिन सकिने अवस्था हुँदाहुँदै पनि आफूहरूसँग कुनै समन्वयनै नगरी भारतलगायतका नेपालका अन्य अस्पतालमा रिफर गरिनाले पनि सर्र्वसाधारण नागरिकहरूले महंगोमा उपचार गर्नु परेको बताए ।

सोती अञ्चल अस्पतालका प्रतिनिधि गौरीदत्त जोशीले अञ्चल अस्पतालमा हुनुपर्ने दक्ष जनशक्ति तथा औषधि अभावका कारण पनि बिमारीहरूलाई सहज र सुलभ स्वास्थ्य सेवा दिन नसकिएको बताउँदै अस्पतालको स्तरोन्नति र व्यवस्थापनका लागि पनि आम सचेत नागरिकहरूको ध्यान जानु पर्ने बताए ।

राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख झंकरबहादुर रावलले संविधानमा स्वास्थ्य अधिकारलाई नैसर्गिक अधिकारको रूपमा सुनिश्चित गरिएको भए पनि राज्यले त्यसको प्रत्याभूत गर्न नसकेको बताउँदै स्वास्थ्य क्षेत्रलाई नाफामूखी भन्दा पनि सेवामूखी बनाउन आग्रह गरेका थिए ।

इन्सेक सुदुरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले संविधानमा निशुल्क स्वास्थ्य अधिकारको व्यवस्था गरिएको भए पनि नागरिकहरूले सामान्य औषधिसमेत महंगोमा खरिद गर्न बाध्य भएकोले आगामी दिनमा प्रदेश सरकारले यस प्रकारको समस्यालाई समाधान गर्न पहल गर्नु पर्ने सुझाव दिएका थिए ।

कार्यक्रमका सहभागिहरूले स्वास्थ्य क्षेत्रलाई चुस्तदुरूस्त राख्न र प्रभावकारी स्वास्थ्य सेवा प्रभाव गर्नका लागि अनुगमन सयन्त्र निर्माण गर्न प्रभावकारी अनुगमन गर्नु पर्ने सुझाव दिएका थिए ।

अन्य

भिडियो