१९ वर्षीया महिलालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालत रुपन्देहीले म्यादी जिल्ला तुरतुरे घरई चण्डी प्रसाद गण उदिपुर व्यारेक लमजुङ्गमा कार्यरत नेपाली सेनाका जवान २२ वर्षीय मदन मगरलाई सात वर्ष कैद सजायको फैसला गरेको छ ।
जिल्ला अदालतका न्यायाधीश धनिश्वर पौडेलको ०८३ असार २३ गतेको इजलासले आरोपितलाई कसुर ठहर गर्दै सात वर्ष कैद सजाय, ३ लाख रुपियाँ जरिवाना, २५ हजार रुपियाँ पीडितलाई क्षतिपूर्ति बापत भराइदिने र १२ हजार रुपियाँ पीडित राहत कोषमा जम्मा गर्ने फैसला गरेको जिल्ला अदालतका सूचना अधिकारी पदम अर्यालले जानकारी दिनुभएको छ ।
आरोपितले पीडितलाई ०७९ माघ १२ गते बलात्कार गरी गर्भवती बनाएको भन्दै पीडित पक्षले ०८० कात्तिक १६ गते इलाका प्रहरी कार्यालय,बुटवलमा उजुरी दिएका थिए । प्रहरीले आरोपितलाई ०८० कात्तिक १६ गते ब्यारेकबाटै गिरफ्तार गरेको थियो । पीडितको स्वास्थ्य परीक्षण ०८० कात्तिक १२ गते लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको थियो ।