INSEC Online

📅 २०८३ श्रावण ८

बाढीपहिरोका कारण १६ घरपरिवार विस्थापित

जिल्ला सदरमुकाम मार्तडीस्थित बडीमालिका नगरपालिका–९ सेलागाडमा ०८३ साउन ७ गते रातिदेखि परेको अविरल वर्षाका कारण आएको बाढीपहिरोले १६ घरपरिवार विस्थापित भएका छन् । सेलागाडबस्तीमाथिबाट साउन ८ गते बिहान ४ बजे आएको पहिरो र लेदोसहितको पानी घरभित्र पसेपछि सेलागाडका १६ घरधुरीमा क्षति पुगेको छ ।

जिल्ला प्रहरी कार्यालय, बाजुराका डिएसपी शैलेश्वरी बोहरा र सशस्त्र प्रहरी बलको टोली घटनास्थलमा रातिदेखि नै खटिएको छ । सुरक्षाकर्मीको टोलीले प्रभावित परिवारको खाद्यान्न, लत्ताकपडा, भाँडाकुँडा लगायतका सामग्री सुरक्षित स्थानमा सारेको डिएपी शैलेश्वरी बोहोराले बताउनु भयो ।

बाढीपहिरोका कारण घरमाथिबाट लेदो आउन थालेपछि अत्तालिएर बेहोस भएकी बडीमालिका नगरपालिका–९ की ३० वर्षीया एक महिलालाई सुरक्षाकर्मीले उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल मार्तडी पु¥याएका छन् । जिल्ला प्रहरी कार्यालय, बाजुराका इन्स्पेक्टर नरेशबहादुर शाहीका अनुसार प्रभावित मध्ये ३ ओटा घर उच्च जोखिममा र अन्य १३ ओटा घर जोखिममा रहेका छन ्। घटनामा कुनै मानवीय तथा चौपाया क्षति भने भएको छैन् ।

बाढीपहिरोले सेलागाड क्षेत्रको ठूलो खेतीयोग्य जमिन बगरमा परिणत भएको छ । बडीमालिका ८ राप्कास्थित टोट्के सिँचाइ नहरको २ सय ३० मिटर प्लास्टिक पाइप र २५ मिटर पक्की नहर समेत बगाएर क्षति पु¥याएको छ ।

अविरल वर्षाकै कारण मुख्य साँफे–मार्तडी सडकखण्ड अन्तर्गत मार्तडीस्थित जिल्ला कारागारदेखि जडाङ्गासम्मका बिभिन्न ठाउँमा पहिरोले सडक अवरुद्ध भएको छ । सडक ठप्प हुँदा गन्तव्य तर्फ जाँदै गरेका सवारी साधन र यात्रुहरूबिच बाटोमै अलपत्र परेका छन् ।

सडक डिभिजन कार्यालय साँफेबगरको डोजर प्रयोग गरी पहिरो पन्छाउने र बाटो खुलाउने कार्य भइरहेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी शाहीले बताउनु भयो ।

अविरल वर्षाका कारण जिल्लाका अन्य ठाउँमा पनि क्षेति हुनसक्ने भएकोले जिल्ला प्रहरी कार्यालय मातहतका प्रहरी चौकी लगायत अन्य स्थानीय जनप्रतिनिधीहरुसँग सम्पर्क र समन्वय गरी नागरिकको धनजनको क्षति कम गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पदमबहादुर सिंह

अन्य

भिडियो