तिलाठी कोइलाडी गाउँपालिकाअन्तर्गतका अधिकांश सरकारी स्वास्थ्य संस्थाहरुमा गर्भवती महिला तथा दीर्घरोगीका लागि आवश्यक औषधिको अभाव भएपछि सेवाग्राही मर्कामा परेका छन्। गाउँपालिकामा वडा नं. ६ र ७ मा आधारभूत स्वास्थ्य केन्द्र, वडा नं. ८ मा प्राथमिक स्वास्थ्य केन्द्र तथा वडा नं. १ देखि ५ सम्म स्वास्थ्य चौकी सञ्चालनमा रहेका छन्। तीमध्ये अधिकांश स्वास्थ्य संस्थामा आइरन, क्याल्सियम, एलर्जी तथा उच्च रक्तचाप (एमलोड–५) सम्बन्धी औषधि सकिएको स्वास्थ्यकर्मीहरूले बताएका छन्। वडा नं. १ स्थित तिलाठी स्वास्थ्य चौकीका प्रमुख दिपेन्द्र झाले महिनामा करिब ५० जना गर्भवती महिला नियमित स्वास्थ्य जाँचका आउने गरेको जानकारी दिनुभयो । गर्भवतीका लागि आवश्यक आइरन र क्याल्सियममध्ये क्याल्सियम ट्याब्लेट साउन ३ गतेदेखि अभाव भएको झाले बताउनु भएको छ ।
वडा नं. २ स्थित लौनिया स्वास्थ्य चौकीका प्रमुख सञ्जय ठाकुरले एलर्जीसम्बन्धी ट्याब्लेट असार १५ गतेदेखि सकिएको भन्नुभयो । एक महिनामा करिब १५ जना एलर्जीका बिरामी उपचारका लागि आउने गरे पनि औषधि अभावका कारण रित्तै फर्किनुपरेको ठाकुरले बताउनु भयो ।
वडा नं.३ स्थित सकरपुरा स्वास्थ्य चौकीका प्रमुख जयप्रकाश साहका अनुसार करिब ५० जना गर्भवती महिलाका लागि आवश्यक क्याल्सियम ट्याब्लेट जेठ महिनादेखि उपलब्ध छैन।
वडा नं. ४ स्थित कोइलाडी स्वास्थ्य चौकीका प्रमुख राम अवतार साहले उच्च रक्तचापका बिरामीले प्रयोग गर्ने एमलोड–५ औषधि साउन ५ गतेदेखि सकिएको जानकारी दिनुभयो । उहाँका अनुसार हाल २२ जना बिरामी प्रभावित भएका छन्।
वडा नं. ५ स्थित बरसाइन स्वास्थ्य चौकीका प्रमुख मनोज प्रसाद देवले करिब १ सय जना गर्भवती महिलाका लागि आवश्यक आइरन तथा क्याल्सियममध्ये क्याल्सियम ट्याब्लेट असार २५ गतेदेखि अभाव छ भन्नु भयो ।
वडा नं. ६ स्थित मधेपुरा आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख विशुनदेव साहले आफ्नो स्वास्थ्य संस्थामा हाल आवश्यक औषधिको अभाव नरहेको बताउनुभयो ।
वडा नं. ७ स्थित मंसापुर आधारभूत स्वास्थ्य केन्द्रका प्रमुख सुरेन्द्र प्रताप साहका अनुसार ६० जना गर्भवती महिला र १२ जना उच्च रक्तचापका बिरामी उपचारमा छन्। उहाँको अनुसार आइरन चक्की असार २० गतेदेखि तथा एमलोड–५ साउन १ गतेदेखि सकिएको छ ।
वडा नं. ८ स्थित तोपा प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख पप्पु कुमार रामले एलर्जीसम्बन्धी औषधि जेठ २९ गतेदेखि अभाव रहेको बताउनुभयो । स्वास्थ्य केन्द्रमा महिनामा करिब ७० जना एलर्जीका बिरामी उपचारका लागि आउने गरेका रामले जानकारी दिनुभएको छ ।
स्वास्थ्य संस्थाबाट प्राप्त विवरणअनुसार गाउँपालिकामा कम्तीमा २ सय ६० जना गर्भवती महिला आइरन वा क्याल्सियमजस्ता अत्यावश्यक औषधिबाट प्रभावित भएका छन्। त्यसैगरी ३४ जना उच्च रक्तचापका बिरामी एमलोड–५ औषधिबाट वञ्चित भएका छन् भने वडा नं. २ र ८ मा महिनाका करिब ८५ जना एलर्जीका बिरामी औषधि अभावको समस्यामा परेका छन्। स्वास्थ्यकर्मीहरूका अनुसार गर्भावस्थामा आइरन र क्याल्सियमको नियमित सेवनले आमा तथा गर्भस्थ शिशुको स्वास्थ्य संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै यसरी अत्यावश्यक औषधि अभाव लामो समयसम्म कायम रहे गर्भवती महिला तथा दीर्घरोगीको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्ने जोखिम रहेको बताउँछन् । गाउँपालिका अध्यक्ष अरूण कुमार मण्डलले स्वास्थ्य संस्थाहरूमा औषधिको अभाव रहेको स्वीकार गर्दै आर्थिक वर्षको अन्त्यतिर भएकाले यस्तो अवस्था सिर्जना भएको बताउनु भयो । उहाँले आवश्यक टेन्डर प्रक्रिया तथा अख्तियारी प्रदान गरी छिट्टै औषधिको आपूर्ति सुनिश्चित गर्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।