INSEC Online

📅 २०८३ श्रावण ६

भूकम्प पीडितको जोखिमपूर्ण बास, त्रासमै बित्छ वर्षाको रात

वर्षायाम सुरु भएसँगै अविरल वर्षा हुन थालेपछि जाजरकोटका भूकम्प पीडित जोखिमपूर्ण अस्थायी आवासमा त्रासमै रात बिताउन बाध्य भएका छन्। भूकम्पले घर भत्किएपछि आवासविहीन भएका नागरिक सरकारले उपलब्ध गराएको अस्थायी आवासमा जोखिम मोलेर बसिरहेका छन्।

भूकम्प गएको करिब तीन वर्ष बितिसक्दा पनि सुरक्षित आवास पाउन नसकेका उनीहरू वर्षाको समयमा डर र त्रासमा रात कटाउन बाध्य भएका हुन्। पुनर्निर्माणको काममा ढिलाइ हुँदा भूकम्प प्रभावित नागरिक अस्थायी टहरामै बस्न बाध्य छन्। स्थानीय सरकारले समेत पुनर्निर्माणलाई प्राथमिकतामा नराख्दा समस्या थप जटिल बनेको पीडितहरूको गुनासो छ।

भीरालो जमिनमा अस्थायी टहरा बनाएर बस्दै आएका जाजरकोट तथा रुकुम पश्चिमको आठबीसकोट नगरपालिका र सानीभेरी गाउँपालिकाका नागरिक अविरल वर्षा हुन थालेपछि पहिरोको त्रासमा रातभर जाग्राम बस्ने गरेका छन्।

भेरी नगरपालिका–१ रावतगाउँकी बिर्मी खड्काले सरकारले समयमा पुनर्निर्माणको काम अघि नबढाउँदा वर्षायाममा थप समस्या भोग्नुपरेको बताउनु भयो। अविरल वर्षा हुँदा अस्थायी टहराभित्र पानी पस्ने तथा सर्पको जोखिम हुने भएकाले रातभर डरमा बस्नुपर्ने उहाँको भनाइ छ।

गरिब, दलित तथा आर्थिक रूपमा विपन्न र ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएका भूकम्पपीडित सुरक्षित आवास नपाउँदा जोखिमपूर्ण टहरामा बस्न बाध्य छन्। भूकम्पअघि सुरक्षित घरमा बस्दै आएका उनीहरू भूकम्पपछि सरकारले दिएको ५० हजार रुपियाँ अनुदानबाट निर्माण गरिएका अस्थायी टहरामा बस्दै आएका छन्।

सरकारले घर बनाइदेला र सुरक्षित आवासमा बस्न पाइएला भन्ने आशामा बसेका पीडितहरू पुनर्निर्माणमा भएको ढिलाइका कारण निराश बनेका छन्। उनीहरूले हिउँदमा टिनको छानाबाट शीतका थोपा चुहिने, चैत–वैशाखको गर्मीमा टहराभित्र बस्न नसकिने र वर्षायाममा बाढीपहिरोको जोखिम हुने समस्या भोग्दै आएका छन्।

नलगाड नगरपालिका–१ चिउरीका दीपक चनाराले सरकारले समयमा पुनर्निर्माणको काम सुरु नगर्दा आफूहरू समस्यामा परेको बताए। करिब २ सय घरधुरी रहेको चिउरी गाउँ बाढीपहिरोको जोखिममा रहेको उनले बताउनु भयो। गरिब तथा दलित समुदायको बाहुल्य रहेको गाउँका अधिकांश नागरिक ज्यालामजदुरी गरेर जीविकोपार्जन गर्दै आएका छन्।

अविरल वर्षा हुन थालेपछि अस्थायी टहराभित्र पानी पस्ने, भएकोले रातभर जाग्राम बस्नुपर्ने अवस्था रहेको चनाराले बताउनु भयो। सरकारले पुनर्निर्माण गरिदेला र ज्यालामजदुरीबाट कमाएको आम्दानीले परिवार पाल्न सहज होला भन्ने आशा गरे पनि समयमा घर नबन्दा निराश हुनुपरेको उहाँको भनाइ छ।

अस्थायी टहरामा बस्दा वर्षायाममा भूकम्प प्रभावितको जनजीवन थप कष्टकर बनेको छ। अस्थायी आवासमा बस्दै आएका बालबालिका, सुत्केरी तथा गर्भवती महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरू बढी समस्यामा परेका छन्।

सरोकारवाला निकायले ०८३ असार १५ गतेदेखि पुनर्निर्माणको काम सुरु हुने आश्वासन दिएपछि खुसी भएका भूकम्पपीडितहरू पुनर्निर्माणको काम असोजदेखि मात्र सुरु हुने सूचना पाएपछि निराश भएका छन्।

जाजरकोटका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले भेरी नगरपालिका–१ र ३ का १८८ लाभग्राहीको सम्झौताका लागि फाइल प्राप्त भएकाले साउन ४ गतेको जिल्ला विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकबाट सम्झौता प्रक्रिया अघि बढाइएको बताउनु भयो ।

उहाँका अनुसार नलगाड नगरपालिका–१, २ र ३ का ४ सय ७२ लाभग्राहीको प्राविधिक जाँचबुझपछि सम्झौता प्रक्रिया अघि बढाइनेछ। त्यस्तै, भेरी नगरपालिकाले ६ सय १२ लाभग्राहीको फाइल सम्झौताका लागि पेश गरेकाले आगामी बैठकबाट सम्झौता प्रक्रिया अघि बढाउने तयारी गरिएको छ।

प्राविधिक जाँचबुझ गरिएका फाइल प्राप्त भएपछि तत्काल सम्झौता गरी पुनर्निर्माणको काम अघि बढाइने प्रमुख जिल्ला अधिकारीको भनाई छ। भूकम्पबाट घरबारविहीन भएका नागरिकको घर पुनर्निर्माणका लागि सरकार तथा सरोकारवाला निकाय गम्भीर भएर काम गरिरहेको उहाँले बताउनु भयो ।

बासुदेव शर्मा

अन्य

भिडियो