२२ वर्षीया महिलालाई बेचविखन गरेको कसुरमा दोषी ठहर गर्दै जिल्ला अदालतले तुलसीपुर उपमहानगरपालिका–१६ का ३० वर्षीय राजेश नेपाली, पत्नी ३५ वर्षीया राधा पाण्डेलाई जनही ३० वर्ष कैद गर्ने फैसला गरेको छ ।
जिल्ला न्यायाधिश लालसिंह थापाको इजलासले ०८३ असार ३२ गते कसुरमा दोषी ठहर गर्दै राजेशलाई ३० वर्ष ६ महिना कैद तथा २ लाख ५ हजार रुपियाँ जरिवाना, ५० हजार रुपियाँ क्षतिपूर्ति, त्यस्तै राधा पाण्डेलाई ३० वर्ष कैद, २ लाख रुपियाँ जरिवाना, ५० हजार रुपियाँ क्षतिपूर्ति र भारत उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय राम निवास मौर्यलाई २७ वर्ष कैद, ३ लाख ५० हजार रुपियाँ जरिवाना र १८ हजार रुपियाँ क्षतिपूर्ति भराउने फैसला गरेको हो ।
राजेशलाई मानव वेचविखन कसुरमा २० वर्ष, महिलालाई यौनजन्य गतिविधिमा लगाएको कसुरमा १० र पटके कसुरमा थप ६ महिना गरी ३० वर्ष ६ महिना कैद गरिएको हो । त्यस्तै राधा पाण्डेलाई मानव बेचविखन कसुरमा २० वर्ष, महिलालाई यौनजन्य गतिविधिमा लगाएको कसुरमा १० वर्ष गरी ३० वर्ष र मौर्यलाई मानव वेचविखन कसुरमा २० वर्ष, जबरजस्तीकरणीको कसुरमा थप ७ वर्ष गरी २७ वर्ष कैद गर्ने फैसला गरिएको छ ।
राजेश र राधाले दाङकी एक महिलालाई सस्तोमा सामान किन्न भारतको कृष्णनगर जाउँ भन्दै ०८१ माघ ४ गते भारतको कृष्णनगर हुँदै बलरामपुर लगेर भारु ३५ हजार रुपियाँमा उत्तर प्रदेश बलरामपुर जिल्ला इमिलियाका ४९ वर्षीय रामनिवास मौर्यलाई बिक्री गरेको भन्दै पीडित पक्षले माघ १४ गते इलाका प्रहरी कार्यालय गढवामा उजुरी दिएका थिए । प्रहरीले पीडित महिलालाई माघ १७ गते भारतबाटै उद्धार गरी नेपाल ल्याएको थियो । पीडितको स्वास्थ्य परीक्षण माघ १८ गते राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा गरिएको थियो ।