१७ वर्षीया बालिकालाई बलात्कार गरेको कसुरमा धनुषा जिल्ला अदालतलले २२ वर्षीय युवकलाई ०८३ असार २९ गते कसुरदार ठहर गर्दै ११ वर्ष कैद सजायको फैसला गरेको छ ।
अदालतले मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (३)(घ) बमोजिम जबरजस्ती करणी कसुरमा ११ वर्ष कैद सजाय तोकेको छ । प्रतिवादी आफू एचआईभी संक्रमित रहेको जानकारी हुँदाहुँदै अपराध गरेको पुष्टि भएकाले थप दुई वर्ष कैद र २० हजार रुपैयाँ जरिवाना गरेको छ । साथै पीडित राहत कोषमा ५ लाख रुपियाँ जम्मा गराउन र पीडितलाई थप १ लाख रुपियाँ क्षतिपूर्ति उपलब्ध गराउन पनि आदेश दिएको न्यायाधीश गौतमले बताउनुभयो।
न्यायाधीश गौतमको इजलासले ०८३ जेठ २५ गते प्रतिवादीलाई दोषी ठहर गरेको थियो। अदालतले सजाय निर्धारण गरेकै दिन उनलाई कैद भुक्तानीका लागि सिन्धुली कारागार पठाएको जिल्ला अदालतले जानकारी दिएको छ ।
जनकपुरधाम उपमहानगरपालिकामा श्रेणीविहीन नगर प्रहरी जवानका रूपमा कार्यरत आरोपितले ०८१ असोज ८ गते जनकपुरस्थित दिदीको कोठामा लगेर बालिकालाई बलात्कार गरेका थिए । अत्यधिक रक्तश्राव भएपछि पीडितको प्रादेशिक अस्पताल जनकपुरधाममा उपचार गरिएको थियो। आरोपितविरुद्ध पीडित पक्षले असोज ८ गते नै जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको प्रहरीले बताएको छ ।