INSEC Online

📅 २०८३ असार ३१

५५ घरधुरी खानेपानीबाट बञ्चित

सिमकोट गाउँपालिका–७ डाँडाफयाका ५५ घरधुरी लामो समयदेखि खानेपानीको अभाव झेल्न बाध्य भएका छन्। स्थानीय तह र सम्बन्धित निकायले समस्या समाधानका लागि प्रभावकारी पहल नगर्दा स्थानीयले एक गाग्री पानी भर्नसमेत आधा घण्टासम्म लाइनमा बस्नुपर्ने अवस्था रहेको छ। स्थानीय हरिबहादुर शाहीका अनुसार ओख्रेन गाउँका ५५ घरधुरी पूर्ण रूपमा तथा जबुका गाउँका ३५ घरधुरी आंशिक रूपमा यही खानेपानीमा निर्भर छन्। विगत करिब २५ वर्षदेखि खानेपानीको दिगो व्यवस्थापन हुन नसक्दा गाउँलेले वर्षौंदेखि सास्ती खेप्दै आएका छन्।

समस्या समाधानका लागि पटक–पटक सिमकोट गाउँपालिका तथा खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय हुम्लामा आग्रह गरिए पनि हालसम्म कुनै प्रभावकारी सुनुवाइ नभएको शाहीले बताउनु भयो।

गाउँ नजिकैको ‘बारा’ भन्ने ठाउँमा खानेपानीको मुहान भए पनि त्यसको संरक्षण र व्यवस्थापनका लागि आवश्यक बजेट अभाव हुँदा स्थानीयले सम्बन्धित निकायको सहयोगको अपेक्षा गरेका छन्। तर, सरोकारवाला निकायले आवश्यक चासो नदेखाएको स्थानीयको गुनासो छ।

मुहानको उचित व्यवस्थापन नहुँदा पानी जमिनभित्र पस्ने समस्या बढेको र त्यसले आसपासका घरसमेत जोखिममा परेको उनीहरुको भनाइ छ। यही मुहानमा निर्भर जबुका गाउँका ३५ घरधुरीले पनि दैनिक घण्टौँ लाइनमा बसेर पानी संकलन गर्नुपर्ने बाध्यता भोगिरहेका छन्।

उनीहरुका अनुसार पुराना खानेपानीका मुहान खडेरीका कारण क्रमशः सुक्दै गएका छन् भने समयमै वैकल्पिक स्रोतको व्यवस्था नगरिँदा समस्या थप जटिल बनेको हो। पानीको अभावले गाउँलेको दैनिक जीवन कष्टकर बनेको छ। बिहान उठ्नेबित्तिकै खानेपानीको जोहो गर्ने चिन्ताले स्थानीयलाई सताउने गरेको छ।

वर्षौंअघि निर्माण गरिएको खानेपानी आयोजना जीर्ण भइसकेकाले त्यसबाट पर्याप्त पानी आपूर्ति हुन सकेको छैन। खानेपानी अभावका कारण विद्यालय जाने उमेरका बालबालिका बिहानैदेखि पानी ओसार्नुपर्ने बाध्यता हुँदा उनीहरूको पढाइसमेत प्रभावित भएको छ।

चुनावका बेला घर–घरमा धारा पुर्‍याउने प्रतिबद्धता जनाउने जनप्रतिनिधिले निर्वाचित भएपछि गाउँको समस्या बेवास्ता गरेको स्थानीयको आरोप छ । उनीहरूले तत्काल वैकल्पिक माध्यमबाट भए पनि खानेपानीको व्यवस्था गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

नन्द सिंह

अन्य

भिडियो