जिल्ला कारागार कार्यालय, खाँदबारीको कारागार व्यवस्थापन विभागको टोलीले ०८३ असार २८ गते स्थलगत अनुगमन गरेको छ ।
अनुगमनपछि कारागारभित्रको खानेपानीको समस्यादेखि लिएर जीर्ण भवनको मर्मत गर्न निर्देशन दिइएको छ । कारागार व्यवस्थापन विभागको टोलीले कारागारको भौतिक अवस्था, कैदीबन्दीको समस्या र कारागारको व्यवस्थापनका विषयमा जानकारी लिएको हो ।
कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपाने, प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल, सहायक प्रमुख जिल्ला अधिकारी सुमनकुमार कार्की, सङ्खुवासभा इन्सेक प्रतिनिधिलगायतको टोलीले ०८३ असार २८ गते कैदीबन्दीको अवस्था, कारागार प्रशासन तथा भौतिक संरचनाको अवस्थाबारे जानकारी लिएको हो ।
कारागार अनुगमन गर्दै कैदीबन्दीले उठाएका समस्या तथा कारागारको भौतिक अवस्थाबारे स्थलगत निरीक्षण गरिएको कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताउनु भयो ।
अनुगमनका क्रममा कैदीबन्दीहरूले दैनिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विभिन्न समस्या राखेका थिए । उनीहरूले नियमित र सहज रूपमा खानेपानी आपूर्ति हुनुपर्ने, स्वच्छ पिउने पानीको स्थायी व्यवस्था गर्नुपर्ने, कारागारभित्र फैलिएको उडुसको समस्या तत्काल समाधान गर्नुपर्ने माग राखेका छन् ।
बिग्रिएको फ्रिज र सोलार ब्याट्री मर्मत गर्नुपर्ने, फोहरमैला तथा ढल व्यवस्थापन प्रभावकारी बनाउनुपर्ने र खेलकुदका लागि आवश्यक सामग्री तथा व्यवस्थापनको अभाव रहेको भन्दै त्यसतर्फ पनि ध्यान दिन कैदबन्दीले आग्रह गरेका छन् ।
अनुगमन टोलीले कारागारको समग्र अवस्थाको मूल्याङ्कन गर्दै हालको कारागार भवन सुरक्षा तथा भौतिक संरचनाको दृष्टिले जोखिमयुक्त रहेको निष्कर्ष निकालेको छ । कारागार रहेको स्थान भौतिक तथा मानवीय दुवै हिसाबले जोखिममा रहेकाले उपयुक्त र सुरक्षित स्थानको खोजी गरी कारागार कार्यालय स्थानान्तरण गर्न आवश्यक पहल गरिने कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपाने बताउनुभयो । हालको कारागार भवन अत्यन्त साँघुरो र अपर्याप्त रहेको भन्दै फराकिलो क्षेत्रफलमा आधुनिक र सुरक्षित भवन निर्माणको आवश्यकता औँल्याइएको छ ।
निरीक्षणका क्रममा भवन रहेको जमिन विभिन्न स्थानमा भासिएको, चर्किएको तथा सुरक्षा पर्खालसमेत चर्किएको पाइएकाले तत्काल भवन तथा सहरी विकास डिभिजन कार्यालयसँग समन्वय गरी आवश्यक मर्मत कार्य अघि बढाउन निर्देशन दिइएको कारागारका प्रमुख धन बहादुर श्रेष्ठले बताउनुभयो । टोलीले कारागारसम्म आवश्यक सामग्री ढुवानी गर्न सहज पहुँचका लागि सडक तथा बाटो व्यवस्थापनको पहल गर्नुपर्ने, शौचालयको हज व्यवस्थापन, निर्माणका लागि आवश्यक बजेट माग गर्नुपर्ने तथा सरसफाइ व्यवस्थापनलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको छ ।
अनुगमनपछि कारागार व्यवस्थापन विभागले कैदीबन्दीहरूले उठाएका समस्यालाई चाँडै सम्बोधन गरिने जनाइएको छ ।
जिल्ला कारागारमा एक आश्रत बालिका, आठ महिला सहित कुल १ सय ५९ जना कैदीबन्दीलाई राखिएको छ ।