INSEC Online

📅 २०८३ असार ३०

जेन्जी अभियन्ता माजिद अन्सारीद्वारा जीवन रक्षाको माग

जेन्जी अभियन्ता माजिद अन्सारीले प्रहरीले आफूलाई गिरफ्तार गरी गम्भीर घाइते बनाएको तथा पक्राउको कारण र कानुनी आधारबारे जानकारी नदिएको आरोप लगाउँदै आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।

अन्सारीले फेसबुकमा एक स्ट्याटस लेख्दै २०८३ असार २७ गते शनिबार साँझ करिब ५ बजे १०-१२ जना प्रहरीको समूहले आफूलाई लछारपछार गर्दै कुटपिट गरी गम्भीर घाइते बनाएको उल्लेख गरेका छन्। उनले हाल आफ्नो उपचार त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा भइरहेको जानकारी दिएका छन्।

उनका अनुसार पक्राउको कारणबारे अहिलेसम्म कुनै जानकारी दिइएको छैन। साथै, आफूलाई पक्राउ पुर्जी नदेखाइएको र पक्राउको कानुनी हैसियतबारे पनि कुनै स्पष्टता नभएको उनको भनाइ छ। अन्सारीले गृहमन्त्री र प्रहरी प्रमुखसँग आफूविरुद्ध यस्ता कारबाही किन लक्षित रूपमा गरिएको हो भन्ने विषयमा स्पष्ट पार्न आग्रह गरेका छन्।

अन्सारीले आफ्नो जीवन र स्वतन्त्रताको सुरक्षा सुनिश्चित गर्न सबै सम्बन्धित सरकारी निकाय, संघीय संसद्का सदस्यहरू, प्रतिनिधि सभाको कानून, न्याय तथा मानव अधिकार समिति, नागरिक समाज, अन्तर्राष्ट्रिय मानव अधिकार समुदाय तथा मानव अधिकार रक्षकहरूसँग अपिल गरेका छन्।

अनलाइनडेस्क

अन्य

भिडियो