INSEC Online

📅 २०८३ असार ३१

मन्त्रीविरुद्ध फेसबुकमा आलोचनात्मक अभिव्यक्ति दिएको भन्दै स्वास्थ्यकर्मी गिरफ्तार

सामाजिक सञ्जाल फेसबुकमा नेपाल सरकारकी स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री माननीय निशा मेहताविरुद्ध आलोचनात्मक स्टाटस लेखेको आरोपमा बारा जिल्लाको महागढीमाई नगरपालिका–७ का २५ वर्षीय स्वास्थ्यकर्मी नबेश अधिकारीलाई प्रहरीले ०८३ असार २२ गते जनकपुरधामबाट गिरफ्तार गरेको छ ।

जनकपुरको एक निजी स्वास्थ्य संस्थामा हेल्थ असिस्टेन्टको रुपमा  कार्यरत अधिकारीले असार २० गते आफ्नो फेसबुक पेजमा  मन्त्री मेहताको तस्बिरमा रातो रङको चिन्ह राख्दै “माफिया मन्त्री” उल्लेख गरेका थिए। साथै, “सरकारले प्रत्येक अस्पतालमा गरिब नागरिकका लागि १० प्रतिशत शय्या (बेड) व्यवस्था गर्ने निर्णय गरेपनि  मधेशका कुनै पनि अस्पतालमा कार्यान्वयन गराउन सकेको छैन भन्दै स्वास्थ्य मन्त्री पदबाट राजीनामा देऊ।” भन्ने स्टाटस सार्वजनिक गरेका थिए।

नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार तथा अभिव्यक्ति स्वतन्त्रताको हक तथा स्वास्थ्यसम्बन्धी हक सुनिश्चित गरेको छ। सार्वजनिक सरोकारका स्वास्थ्यसम्बन्धी विषयमा आफ्नो धारणा व्यक्त गरेका स्वास्थ्यकर्मीको गिरफ्तारीपछि अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, कानुनी प्रक्रियाको पालना तथा स्वास्थ्य क्षेत्रका सरोकारका विषयमा स्वतन्त्र अभिब्यक्तिको अधिकार कुण्ठित गर्ने प्रयास गरिएको अधिकारीको भनाइ छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी मधुसूधन न्यौपानेले साइबर ब्युरो, केन्द्रीय कार्यालय, काठमाडौंको निर्देशनका आधारमा अधिकारीलाई गिरफ्तार गरिएको जानकारी दिनुभयो। आवश्यक सोधपुछ पश्चात साइबर ब्युरोकै निर्देशनअनुसार असार २३ गते अधिकारीलाई रिहा गरिएको डीएसपी न्यौपानेले बताउनुभयो ।

सन्तोष कुमार यादव

अन्य

भिडियो