INSEC Online

📅 २०८३ असार २२

झापामा डेङ्गी सङक्रमण तीव्र

जिल्लामा डेङ्गीको सङ्क्रमण तीव्र रूपमा बढेपछि सचेत रहन जिल्ला स्वास्थ्य कार्यालयले आग्रह गरेको छ ।

मौसममा आएको परिवर्तनसँगै चालू आर्थिक वर्ष २०८२/८३ मा जिल्लामा डेङ्गी सङ्क्रमण तीव्र रूपमा फैलिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका १५ ओटा स्थानीय तहमध्ये हल्दिवारी गाउँपालिकामा डेङ्गीको सङ्क्रमण उच्च देखिएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

यस आर्थिक वर्षको ०८३ असार तेस्रो सातासम्मको अवधिमा हल्दीबारी गाउँपालिकामा मात्रै २८ जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भएको छ ।

पानी पर्दै र घाम लाग्दै गरेको वर्तमान मौसम लामखुट्टेको अण्डा पार्ने र लार्भा विकसित हुने प्रक्रियाका लागि निकै अनुकूल हुने भएकाले हल्दीबारीबासीलाई विशेष स्वास्थ्य सतर्कता अपनाउन स्वास्थ्यकर्मीहरूले आग्रह गरेका छन ।

जिल्लामा चालू आर्थिक वर्षको असार तेस्रो साताको अवधि सम्ममा ५ सय १० जनामा डेङ्गीको सङ्क्रमण पुष्टि भइसकेको छ । सङ्क्रमणकै कारण झापा गाउँपालिकाकामा १० वर्षीय बालकले ज्यान गुमाएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

जिल्लाका १५ ओटा स्थानीय तहमध्ये दमक नगरपालिकामा २ सय १६ र विर्तामोड नगरपालिकामा ८९ जना सङ्क्रमित फेला परेका छन् ।

​डेङ्गी फैलाउने ‘एडिस’ जातको लामखुट्टे मुख्यगरी रातमा नभई दिउँसोको समयमा सक्रिय हुने गर्दछ । अरू लामखुट्टे जस्तो यसको आवाज नसुनिने र थाहै नपाई खुट्टा तथा पाखुरा जस्ता कपडाले नजोगिएका खुला भागमा टोक्ने भएकाले यसबाट जोगिन चिकित्सकहरूले सुझाव दिएका छन ।

स्थानीय तहले ‘खोज र नष्ट गर’ अभियान चलाउनुपर्ने र विद्यालयहरूमा कार्यरत ‘विद्यालय नर्स’ मार्फत बालबालिकाहरूमा डेङ्गी विरुद्धको सचेतना फैलाउनु आवश्यक देखिएको छ ।

​नरेश खाती

अन्य

भिडियो