INSEC Online

📅 २०८३ जेष्ठ २१

मन्दिरमा तोडफोड, पीठाधिशमाथि आक्रमण प्रयास

छिन्नमस्ता गाउँपालिका–३ स्थित छिन्नमस्ता भगवती शक्तिपीठका पीठाधिश ५१ वर्षीय महाकान्त ठाकुरमाथि चैत ७ गते राति राजपा नेपालका केन्द्रीय उपाध्यक्ष समेत रहेका ४८ वर्षीय ‘रणविर सिंह’ भनिने रामनारायण यादवले आक्रमणको प्रयास गरी तोडफोड गरेको ठाकुरले आरोप लगाएका छन् ।

पीठाधिश ठाकुरले राति नौ बजे शक्तिपीठ परिसरको आफ्नो कक्षमा बसिरहेको बेला पेस्तोल बोकेर आएका आरोपितसहित तीन जनाको समूह भित्र प्रवेश गरी तोडफोड गरेपछि पछाडितर्र्फको ढोकाबाट भागेर ज्यान जोगाएको बताए ।

पीठाधीश ठाकुरका अनुसार आरोपितहरुले कुर्सी र दराज सहितका फर्निचरहरु तोडफोड गर्दै दराजमा भएको चाँदीको थाल, २८ हजार नेपाली रुपियाँ, २ हजार ४ सय भारतीय रुपियाँ, मन्दिरको रेकर्ड फाइल, गाडीको साँचो लिएर गए ।

उक्त विषयमा आफुले तत्कालै इलाका प्रहरी कार्यालय सखडामा जानकारी गराएको बताउँदै पीठाधिश ठाकुरले प्रहरी आउनुअघि नै उनीहरु भागेको बताए ।

छिन्नमस्ता भगवती शक्तिपीठ संरक्षण सम्वद्र्धन समितिका पूर्व कार्यवाहक अध्यक्षसमेत रहेका यादवले आफुमाथि लगाइएको आरोप निराधार र कपोलकल्पित रहेको दावी गरेका छन् ।

मन्दिर वरिपरी खुलेका मदिरा पसलहरु नियन्त्रित गर्नुपर्छ भनि आफुहरुले अभियान चलाइरहेको जानकारी दिँदै यादवले भने– ‘आफ्नै कक्षमा सहयोगीका साथ मदिरा सेवन गरिरहेका पीठाधीशलाई मन्दिर परिसरमा रहेको कार्यालय भवनमा मदिरा सेवन नगर्न आग्रह मात्र गरेको हुँ ।’

इलाका प्रहरी कार्यालय सखडाले आरोपितहरुको खोजी र अनुसन्धान भइरहेको जनाएको छ ।

अन्य

भिडियो