INSEC Online

📅 २०८३ जेष्ठ २१

जातीय विभेद अन्त्य गर्न एकजुट हुनुपर्नेमा जोड

सबै किसिमका जातीय विभेद उन्मूलन गर्न एक जुट हुनपर्नेमा सरोकारावालले जोड दिएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) र दलित नगर समन्वय समिति अर्जुनधाराले संयुक्त रुपमा चैत ७ गते अन्तर्राष्ट्रिय जातीय विभेद उन्मूलन दिवसको अवसरमा वक्ताहरुले शनिश्चरेमा उक्त कुरा बताएका हुन् ।

कार्यक्रममा अर्जुनधारा नगरपालिकाका प्रमुख हरिकुमार रानाले भने ‘समाजमा रहेको जातीय विभेद हटाउन आगामी दिनमा जनचेतनामूलक कार्यक्रम गर्छौँ । सहभोज कार्यक्रम राख्छौँ । छुवाछुत मुक्त नगर घोषणा गर्छौँ ।’

उनले आफू समग्रमा सिंगो समुदायको हितमा काम गर्ने समेत उनले प्रतिवद्धता जनाए । दलित नगर समन्वय समितिका अध्यक्ष मोहनलाल पौडेलीले स्थानीय तहका प्रमुखप्रति लक्षित गर्दै भने ‘संविधानमा भएका दलितका हकको कार्यन्वयन गर्न सबै सरोकारवालासँग अग्रह गर्छु ।’

उनले दलित समुदायप्रति भएको जातीय विभेद उन्मूलन गर्न दलित समुदाय एक्लैले नसक्ने भएकोले सबैले यसलाई साझा समस्याको रुपमा बुझिदिन आग्रह गरे ।

नेपाल बार एसोसिएशन झापाका पुर्व कोषाध्यक्ष तथा अधिवक्ता लक्ष्मी शिवाकोटीले कानुनी रुपमा जातीय विभेद अन्त्य भए पनि व्यवहारिक रुपमा अन्त्य भएको छैन ।

उनले जातीय विभेद हटाउन कानुनले व्यवस्था गरेका प्रावधानमा राजनीतिक दलले इच्छाशक्ति देखाउनुपर्नेमा जोड दिए ।

झापा जिल्ला अदालतमा दर्ता भएका मानव बेचबिखन र बलात्कारका घटनाका मुद्दामा सबैभन्दा बढी दलित महिला नै पीडित भएको पाएको जानकारी गराए ।

उनले अर्जुनधारा नगरपालिकाले सबै वर्ग, धर्म लगायतका व्यक्तिलाई बोलाएर अन्तरक्रिया गरी जातीय भेदभावमुक्त नमूना नगर बनाउन अनुरोध गरे ।

नेपाल शिक्षक महासंघ अर्जुनधारा नगर समितिका अध्यक्ष पुण्य सुवेदीले संविधानमा दलितले प्राप्त गरेको अधिकार ‘चेक पाए पनि नगद साट्न नपाए जस्तो’ रहेकाले कार्यन्वयन गर्न सबै अगाडि बढ्नुपर्ने बताए ।

अर्जुनधारा प्रेस क्लबका अध्यक्ष कुमार भट्टराईले अब जातीय विभेद नभएर यो अपराध भएको र यसका लागि कानुनको कार्यन्वयन गर्नुपर्नेमा जोड दिए ।

अर्जुनधारा नगरपालिका वडा न १० का अध्यक्ष बलदेब गोम्देनले दलितहरु शासनसत्तँमा आउनुपर्ने बेला भएको बताए ।

अन्य

भिडियो