दसैँको समयमा विभिन्न क्षेत्रमा लाग्ने मेलामा दलित समुदायमाथि हुँदै आएको विभेदका विषयमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) समक्ष अनुगमन गर्न दलित समुदायले गरेको आग्रह अनुसार इन्सेकले अनुगमन गरेको छ ।
निङ्गालाशैनि भगवती, मेलौली भगवती, उदयदेव भगवती र डिलाशैनि भगवतीको मन्दिरमा दलित समुदायले विगतदेखि विभेद खेप्दै आएको बारेमा इन्सेकले असोज २३, २४ र २५ गते अनुगमन गरेको हो ।
इनसेक जिल्ला प्रतिनिधि नरी बडुको नेतृत्वमा पत्रकार, दलित अधिकारकर्मीलगायतले उनीहरूको अवस्थाबारे अनुगमन गरेका थिए ।
मल्लादेही गाविसमा बसोवास गर्दै आएका दलित समुदायले आफूहरूको मानव अधिकार अवस्थाबारे अनुगमन गरिदिन इन्सेकलाई आग्रह गरेपछि उक्त अनुगमन गरिएको इन्सेक जिल्ला प्रतिनिधि नरी बडुले जानकारी दिए ।
अनगमनमा संलग्न अधिकारकर्मीको टोलीले विगतका वर्षहरूको तुलनामा दलित समुदायमाथि गरिने विभेदमा कमी आएको निष्कर्षनिकालेको छ । ‘विभेद निमिट्यान्न भने हुन सकेको छैन ।’-अधिकारकर्मी नरी बडुले बताए ।
अप्रत्यक्ष रूपमा दलित समुदायमाथि विभेद भएपनि प्रत्यक्ष रूपमा भने कसैले पनि विभेद नगरेको टोलीको निष्कर्ष छ ।
‘आफूखुसी नै हामीले राँगाको मासु खायौं, यसपालि कसैले पनि खानुपर्छ भनेर जबरजस्ती गरेन ।’ देहिमाण्डौँ गाविस- ५ बसैँका कृष्ण लावडले भने ।
राँगाको मासु खाने दलित समुदायले उक्त मन्दिर क्षेत्रको सरसफाई पनि गर्नुपर्ने चलन भने यथावत रहेको अनुगमन टोलीमा संलग्न दलित अधिकारकर्मी रमेश कोलिको भनाइ छ ।
‘इच्छा हुनेले खायौं । नहुनेले खाएनौं । प्रत्यक्ष रूपमा दबाब दिएर खानै पर्छ भनेर कसैले पनि भनेनन् ।’-पाटन नगरपालिकाका हरि पहरीले भने ।
पुचौँडी क्षेत्रमा पर्ने मल्लादेही गाविसमा समितिले गरेको निर्णय अनुसार विधिवत रूपमा मेला सम्पन्न भएको डिलाशैनि मन्दिर सेवा समितिका अध्यक्ष वकिलबहादुर धानुकले बताए ।