INSEC Online

📅 २०८३ असार १६

कारागारभित्र १९ जना नाइके तथा सहनाइकेलाई कोठामा थुनेर कैदीबन्दीको विरोध

जिल्ला कारागार कपिलवस्तुको ब्लक ‘बी’ मा रहेका कैदीबन्दीहरूले आन्तरिक प्रशासनको जिम्मेवारी सम्हालिरहेका १९ जना नाइके तथा सहनाइकेलाई असार १५ गते कारागारभित्रकै एक कोठामा थुनेर विरोध जनाएका छन्।

जिल्ला कारागार कपिलवस्तुका कारागार प्रशासक मानबहादुर सारुका अनुसार आगामी आर्थिक वर्षदेखि आन्तरिक प्रशासनको जिम्मेवारी आफूहरूले पाउनुपर्ने माग राख्दै केही कैदीबन्दीले आन्दोलनस्वरूप हाल कार्यरत नाइके तथा सहनाइकेलाई कोठामा थुनेका हुन्।

कपिलवस्तुका प्रमुख जिल्ला अधिकारी जनार्दन गौतमले आन्तरिक प्रशासनमा काम गर्ने अवसर आफूहरूलाई उपलब्ध गराउनुपर्ने मागसहित केही कैदीबन्दीले १९ जना नाइके तथा सहनाइकेलाई कोठाभित्र नियन्त्रणमा राखेको जानकारी दिनुभयो। उहाँका अनुसार घटनाको समाधानका लागि सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) रिपेन्द्रकुमार सिंह, सशस्त्र प्रहरी बलका डीएसपी राम बोगटी, कारागार प्रशासक मानबहादुर सारुलगायतको टोलीले कैदीबन्दीसँग वार्ता गरिरहेको छ।

कारागारभित्रको आन्तरिक प्रशासन सञ्चालनका लागि कानुनी मापदण्ड पूरा गरेका कैदीबन्दीलाई कारागार प्रशासनले नाइके तथा सहनाइकेको जिम्मेवारी दिने व्यवस्था रहेको बताइएको छ।

जिल्ला कारागार कपिलवस्तुका सूचना अधिकारी रेशमलाल भुसालका अनुसार हाल कारागारमा ४ सय ७ जना कैदीबन्दी रहेका छन्।

 रीमा बि.सी.

अन्य

भिडियो