नवयुवा पुस्ताको आन्दोलनका क्रममा बालसुधार गृहबाट फरार ७२ मध्ये ६७ जनालाई सुधारगृह फर्काइएको छ भने पाँच जना हालसम्म फरार रहेका छन् । सुधारगृह प्रमुख प्रदीप गौतमका अनुसार फरार बालकहरु लागुऔषध र जबर्जस्ती करणी मुद्दाका अभियुक्त रहेका छन् ।
हेटौँडा उपमहानगरपालिका–११ थानाभर्याङ स्थित बाल सुधार गृहको आफ्नै भवन छैन । साविकको महिला विकास समितिको भवनलाई बाल सुधार गृहको रुपमा प्रयोग गरिदै आइएको छ । ३५ जना क्षमता भएको सुधारगृहमा हाल ८३ जना रहेका छन् । जसमध्ये १३ जना १८ वर्ष भन्दा बढि उमेरका छन् । कारागारका बालबालिकाहरुको अध्ययनका लागि सामान्य पुस्तकालय बाहेक अन्य कुनै व्यवस्था छैन । पढाइमा रुचि राख्ने बालकहरुका लागि सामुदायिक विद्यालयमा नाम दर्ता गराई सुधार गृहबाट नै परीक्षा दिइने व्यवस्था मिलाइएको वार्डेन श्रवण कुमार पुडासैनीले बताउनु भयो । सुधारगृहमा सवारी साधन र बालमैत्री भौतक संरचनाको समेत अभाव रहेको वार्डेन पुडासैनीले बताउनु भयो ।