तीन वर्षे बालिकालाई बलात्कार गरेको कसुरमा जिल्ला अदालतले सिस्ने गाउँपालिका–५ बाहुनठानाका ३० वर्षीय मदन भनिने भरत गौतमलाई २५ वर्ष कैद सजायको फैसला गरेको छ ।
न्यायाधीश दुर्गाबहादुर भुसालको इजलासले गौतमलाई १९ वर्ष कैद र पटके कसुरमा थप ६ वर्ष गरी २५ वर्ष कैद सजायको फैसला गरेको हो । साथै पीडितलाई क्षतिपूर्तिवापत १ लाख रुपियाँ भराइदिने अदालतले जानकारी दिएको छ ।
आफ्नै घरको आँगनमा खेलिरहेकी तीन वर्षीया बालिकालाई गत माघ २१ गते कोठामा लगी बलात्कार गरेको आरोपमा मदनलाई प्रहरीले गिरफ्तार गरेको थियो ।
पहिले पनि बलात्कार प्रयासको घटनामा पाँच वर्ष सजाय भुक्तानी गरिसकेका मदनले त्यसको एक वर्ष नबित्दै फेरि तीन वर्षीया बालिका बलात्कार गरेपछि पटके कसुरमा ६ वर्ष कैद सजाय थप गरिएको इजलास सहायक कुमार राणाले जानकारी दिए ।
पुर्पक्षका लागि रुकुम (पश्चिम) कारागारमा थुनामा रहेका मदनलाई १९ वर्ष र पटके कसुरमा थप ६ वर्ष गरी २५ वर्ष कैद सजायको फैसला गरेको श्रेस्तेदार सुशीलकुमार यादवले जानकारी दिए ।
समाचार साभारः रासस