INSEC Online

📅 २०८३ जेष्ठ २१

खाँडादेवीका नागरिकहरु स्वच्छ पीउने पानीको अधिकारबाट वञ्चित

रामेछापको खाँडादेवी गाउँपालिकाका ५ ओटाभन्दा बढी वडाका सर्वसाधारणहरु स्वच्छ खानेपानीको अधिकारबाट वञ्चित भएका छन् । पानीका मुहान सुकेपछि स्थानीयको जनजीवन कष्टकर बनेको हो ।

गाउँमा खानेपानीका मुहान सुकेपछि खानेपानीको हाहाकार भएको खाँडादेवी गाउँपालिका–५ पकरबासका नारायणहरि ढुंगेलले बताए ।

उनले भने,‘पानीका पुराना साना मुहानहरु सबै सुके, अब नदीको पानी तानेर खानुको विकल्प नै छैन । कि पानी तानेर खानु पर्यो, कि गाउँ छाडेर हिँड्नु पर्यो ।’

गाउँमा पानी नभए पछि अहिले स्थानीयहरु भटौली खोला, तामाकोसी र सुनकोसी नदीबाट ट्याक्टरमा पानी बोकेर उपभोग गरिरहेका छन् ।

नदी र खोलबाट सोझै उभाएको पानी उनीहरुले उभोग गरिरहेका छन् । स्थानीयले वस्तुलाई खुवाउने पानी प्रतिलिटर १ रुपियाँ तथा मानिसले उपयोग गर्ने पानी २ रुपियाँ प्रतिलिटरका दरले किन्ने गरेको ढुंगेलले बताए ।

वडा नं ५ पकरबासमा मात्र हैन वडा नं १ राकाथुम, २ मझुवा, ३ भिरपानी तथा वडा नं ४ को तल्लो पकरबासमा पनि अवस्था त्यस्तै छ ।

पाँच ओटै वडामा ट्याक्टरबाट पानी ओसारेर उपभोग गरिरहेको वडा नं १ का वडा अध्यक्ष विष्णुकुमार श्रेष्ठले बताए ।

नौ ओटा वडा रहेको खाँडादेवीका माकादुम, गागल र पिङ्खुरीमा केही पानीका मुहान भए पनि त्यहाँ पनि पर्याप्त पानी नभएको वडा नं ६ का वडा अध्यक्ष पुष्कर कार्की बताउँछन् ।

२०६८ सालको जनगणना अनुसार पकरबासमा १ हजार १ सय ७७ घर धुरीमा ६ हजार ३ सय ९२, राकाथुमका ७ सय १६ घरधुरीमा ३ हजार ४ सय ३४, भिरपानीको ७ सय ५४ घरधुरीमा ३ हजार २ सय ५३ र मझुवाको ४ सय ५३ घरधुरीमा २ हजार २ सय ९३ जनसंख्या रहेको छ ।

खानेपानीको समस्या समाधानको लागि सुनुकोसी र तामाकोसीबाट पानी तान्ने काम चलिरहेको खाँडादेवी गाउँपालिका अध्यक्ष प्रेमबहादुर तामाङले जनाकारी दिए ।

यसको साथै बोरिङ गरेर पानी तान्ने प्रविधि पनि रामेछापका केही ठाउँमा सफल भएकोले अब सो प्रविधिको आयोजना सञ्चालनको लागि पनि प्रदेश सरकारलाई अनुरोध गरेको उनले बताए ।

त्यो व्यवस्था नहुँदासम्म गाउँपालिकाले खानेपानीको ट्याङ्कर खरिद गरी अति अभाव भएको ठाउँमा पानी वितरण गर्ने योजना बनाएको उनले बताए ।

संविधानको भाग ३ मा रहेको मौलिक हकमा नै स्वच्छ खानेपानी अधिकारको सुनिश्चितता गरिएको छ । संविधानको धारा ३५ को उपधारा ४ मा ‘प्रत्येक नागरिकलाई स्वच्छ खानेपानी तथा सफाईको पहुँचको हक हुने छ’ भनिएको छ ।

अन्य

भिडियो