हत्या आरोपमा जिल्ला कारागार कार्यालय, पाँचथरमा पुर्पक्षमा रहेका मिक्लाजुङ गाउँपालिका–८ दुर्दिम्बाका ५२ वर्षीय बखतबहादुर सिंघकको उपचारका क्रममा असार १३ गते मृत्यु भएको छ ।
१९ वर्षीय छोरा सफल सिंघकलाई घरायसी विवादका क्रममा ०८२ कात्तिक ९ गते गोली प्रहार गरी हत्या गरेको आरोपमा मङ्सिर ८ गतेदेखि पुर्पक्षमा रहेका आरोपितको ०८३ असार १३ गते उपचारका क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान घोपामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय, पाँचथरका डिएसपी अनिश कर्णले पुर्पक्षमा रहेका आरोपित केही समययता बिरामी भएको बताउनु भयो । जिल्ला अस्पतालमा उपचार भइरहेका आरोपितको स्वास्थ्य बिग्रिएपछि असार १३ गते थप उपचारका लागि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा भर्ना गरिएको थियो ।
उपचारकै क्रममा असार १३ गते चिकित्सकले मृत घोषणा गरेको भएपनि शव भने वीपीको शवगृहमा राखिएको डिएसपी कर्णले बताउनु भयो ।
घटनामा विषयमा परिवारलाई जानकारी गराएको र कानुनी प्रक्रिया पुरा गरी शव पीडित परिवारलाई जिम्मा दिइने डिएसपी कर्णको भनाइ छ ।