INSEC Online

📅 २०८३ असार १३

कैदीबन्दीले पाएको भत्ता गायब घटनाका आरोपित गिरफ्तार

जिल्ला कारागार कार्यालय, मोरङका कैदीबन्दीलाई वितरण गरिएको भत्ता गायब भएपछि प्रहरीले एक जनालाई गिरफ्तार गरेको छ ।

कैदीबन्दीहरूलाई अनुचित प्रभावमा पारी अवैध रकम असुली गरेको आरोपमा प्रहरीले विराटनगर महानगरपालिका–८ का ४८ वर्षीय अभिषेक गिरीलाई ०८३ असार १३ गते गिरफ्तार गरेको छ ।

आपराधिक मुद्दामा जिल्ला कारागार कार्यालय, मोरङमा नौ वर्ष बसेर कैद भुक्तान गरेका गिरीले सोही अवधिमा कैदीबन्दीलाई प्रभाव पारेर अवैध रूपमा रकम असुली गरेको आरोप छ ।

विराटनगर महानगरपालिका–८ मधुमारास्थित घरबाटै गिरीलाई असार १३ गते अनुसन्धानका लागि गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय, मोरङका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।

जिल्ला कारागार कार्यालय, मोरङका कैदीबन्दीलाई वितरण गरिएको १३ लाख ४० हजार रूपियाँ भत्ता गायब भएपछि गिरीलाई गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

कारागार प्रशासनले असार १० गतेदेखि असार १२ गतेसम्म १ हजार १ सय ८५ कैदीबन्दीलाई प्रतिव्यक्ति २ हजार ५ सयका दरले भत्ता वितरण गरेको थियो ।

तर, बी ब्लकका ५ सय ३६ जना कैदीलाई बाँडिएको रकम केही घण्टामै गायब भएको सूचना पाएपछि प्रमुख जिल्ला अधिकारी युवराज कटेलले अनुगमनको निर्देशन दिनुभएको थियो ।

अनुगमनका क्रममा कैदीबन्दीको साथमा रकम नभेटिएपछि सोधपुछ गर्दा गिरीको संलग्नता खुलेपछि अनुसन्धानका लागि गिरफ्तार गरेको प्रहरीले जनाएको छ ।

जिल्ला कारागार मोरङका जेलर राजन घिमिरेले मोरङ कारागारमा तीन ओटा ब्लकमा रहेका १ हजार १ सय ८५ कैदीबन्दीलाई गर्मी भत्ता बापत २ हजार ५ सयका दरले वितरण गरिएको बताउनु भयो । जेलर घिमिरेले ए ब्लकका ५ सय ३९ जना, बी ब्लकका ५ सय ३६ जना र महिला ब्लकका १ सय १० जनालाई भत्ता वितरण गरिएको थियो ।

बी ब्लकका ५ सय ३६ जनालाई वितरण गरिएको १३ लाख ४० हजार रुपियाँ भने वितरण गरेको केही समयमा गायब भएको सूचना प्रमुख जिल्ला अधिकारी युवराज कटेलसम्म पुगेको थियो ।

जिल्ला प्रशासन कार्यालयले सूचना पाएपछि असार १२ गते कारागारको बि ब्लकमा अनुगमन गर्न निर्देशन दिएको थियो । अनुगमनका क्रममा कैदीबन्दीलाई वितरण गरेको भत्ता साथमा नभएपछि प्रहरीले गिरीलाई अनुसन्धानका लागि गिरफ्तार गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी मकेन्द्रकुमार मिश्रले बताउनु भयो ।

कारागार प्रशासनका कर्मचारीले सशस्त्र र नेपाल प्रहरीको उपस्थितिमा कैदीबन्दीको हातहातमै भत्ता पुर्‍याएको भएपनि जिल्ला प्रशासन कार्यालयबाट अनुगमन गर्दा कैदीबन्दीको साथमा भत्ता नभेटिएपछि गिरीको संलग्नता हुनसक्ने भएकाले गिरीलाई अनुसन्धानका लागि प्रहरीले गिरफ्तार गरेको हो ।

अनुगमनका क्रममा कतिपय कैदीबन्दीको साथमा ५ सयदेखि १ हजार रुपियाँ मात्र फेला परेको थियो । बाँकी रकमका बारेमा सोधपुछ गर्दा कैदीबन्दीले लुगा किन्नका लागि घरपरिवार वा आफन्तलाई पठाइसकेको जवाफ दिएको कारागारका जेलर राजन घिमिरेले बताउनु भयो ।

बि ब्लकका निमित्त चौकीदार चञ्चल बर्मनलाई सोधपुछ गर्दा अभिषेक गिरीको नाम लिएपछि प्रहरीले गिरीलाई गिरफ्तार गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी युवराज कटेलले कारागारबाटै कैदीबन्दीको भत्ता गायब भएपछि गिरीलाई अनुसन्धानका लागि गिरफ्तार गरिएको बताउनु भयो । कारागारको अन्य विषय पनि गिरीसँग जोडिएकाले थप अनुसन्धान भइरहेको प्रमुख जिल्ला अधिकारी कटेलको भनाइ छ ।

अपहरण तथा शरीर बन्धक मुद्दामा नौ वर्ष जेल बसेर दुई वर्षअघि छुटेका गिरी पछिल्लो समय नेपाली कांग्रेसको राजनीतिमा सक्रिय थिए । कारागारभित्र रहँदा पनि चौकीदारका रूपमा कैदीबन्दीमाथि आर्थिक शोषण गरेको आरोप उनीमाथि लाग्दै आएको थियो । हाल भत्तासँगै कैदीबन्दीले बनाएको मुढाको पैसासमेत गायब पारेको विषयमा उनीमाथि थप अनुसन्धान भइरहेको छ ।

आरोपित अभिषेक गिरीले भने सरकार फेरिएपछि राजनीतिक प्रतिसोधका आधारमा गिरफ्तार गरिएको बताउनु भएको छ । कैदीबन्दीले पाएको भत्ता गायब भएको घटनामा आफ्नो संलग्नता नभएपनि राजनीतिक प्रतिशोधका लागि गिरफ्तार गरिएको गिरीको भनाइ छ ।

कोशी प्रदेश कार्यालय

अन्य

भिडियो