INSEC Online

अन्तरजातीय विवाह गर्ने ११ दम्पतिलाई स्थानीय सरकारको सम्मान

अन्तरजातीय विवाह गरी सामाजिक सद्भाव, समानता र जातीय विभेद अन्त्य गर्न सकारात्मक सन्देश दिएको भन्दै आठराई त्रिवेणी गाउँपालिकाले ११ जोडीलाई नगदसहित सम्मान गरेको छ ।

दलित सचेतना कार्यक्रमअन्तर्गत अन्तरजातीय विवाह गर्ने दम्पतीहरूलाई नगद ३ हजार रुपियाँ र प्रमाणपत्रद्वारा सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।

गाउँपालिकामा ०८३ असार ३ गते आयोजित कार्यक्रममा अन्तरजातीय विवाह गरी समाजमा सकारात्मक सन्देश प्रवाह गरेका दम्पतीलाई सम्मान गरिएको आठराई गाउँपालिकाका अध्यक्ष दीपेन्द्र पोमुले बताउनु भयो ।

गाउँपालिकाको चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रममार्फत प्रत्येक दम्पतीलाई नगद र प्रमाणपत्रले सम्मान गरिएको दलित अधिकारकर्मी गणेश कार्की डोलीले बताउनु भयो ।

आठराई गाउँपालिका– १ का कविता बयलकोटी र मौसम लिम्बू, २ का होमबहादुर दर्नाल र सिर्जना राई, ३ का रमेश घिमिरे र सरिता नाल्बो, सुमन बराइली र सङ्गीता लिम्बू तथा हेमकुमार थापा र अस्मिता दर्नाललाई सम्मान गरिएको छ ।

त्यसैगरी आठराई गाउँपालिका–४ का सविन बर्देवा र सङ्गीता श्रेष्ठ, वीरकुमार कार्की डोली र सिर्जना तामाङ तथा वडा ५ का धननाथ नेपाली र साङ्गी शेर्पा, आइतवीर र अस्मिता बराइली, कृष्ण बिक र कमला लिम्बू तथा सलबहादुर नेपाली र गंगादेवी शेर्पा सम्मानित हुनु भएको छ ।

अन्तरजातीय विवाहले सामाजिक एकता, सहिष्णुता र समावेशी समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने गाउँपालिका अध्यक्ष दिपेन्द्र पोमूले बताउनु भएको छ ।

गाउँपालिकाले सामाजिक रूपान्तरण र जातीय विभेद न्यूनीकरणका लागि आगामी दिनमा पनि यस्ता सचेतनामूलक तथा प्रोत्साहनात्मक कार्यक्रमलाई निरन्तरता दिने अध्यक्ष पोमूको भनाइ छ ।

एलिना दियाली

अन्य

भिडियो