INSEC Online

नेपाली चियामा भारतीय नीतिको प्रभाव, ६० हजार श्रमिकको रोगजारी गुम्यो

भारतीय चिया बोर्ड र वाणिज्य विभागको संयुक्त बैठकले ०८३ वैशाख २९ गते देखि नेपाली चियामा ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) लागू गरेपछि जिल्लाका ६० हजार चिया श्रमिक र कर्मचारीको रोजगारी गुमेको छ ।

भारतीय नीतिका कारण नेपालमा उत्पादन भएको चिया निकासीमा समस्या भएसँगै झापाका ३२ ओटा चिया उद्योग ०८३ असार ४ गतेदेखि बन्द हुँदा कर्मचारी तथा चिया श्रमिकको रोजगारी गुमेको हो ।

जिल्लामा मात्रै चिया उद्योगका कर्मचारी र चिया श्रमिक गरी ६० हजारको रोजगारी गुमेको नेपाल चिया उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष आदित्य पराजुलीले बताउनु भयो ।

एउटा सरकारी र चार ओटा सहकारी गरी ३२ ओटा चिया उद्योगमा कार्यरत ६० हजार जनाले असार ४ गतेदेखि रोजगारी गुमाएका छन् ।

भारतले सन् २०२६ को मे १२ तारिखदेखि लागू गरेको नयाँ ‘स्ट्यान्डर्ड अपरेटिङ प्रोसिजर’ (एसओपी) का कारण नेपाली चिया निर्यातमा गम्भीर समस्या उत्पन्न भएको छ ।

भारतीय नयाँ नीति एसओपीको कारण इलामका ५३ ओटा अर्थोडक्स चिया उद्योगहरू ०८३ असार १ गतेदेखि नै बन्द भइसकेका छन् ।

नेपाल चिया उत्पादक सङ्घले असार ३ गते बिर्तामोडमा पत्रकार सम्मेलन गरी भारतीय नीतिका कारण इलाम र झापाका चिया उद्योग बन्द गर्नुपरेको जानकारी गराएको छ ।

नेपालमा उत्पादित सिटिसी र अर्थाेडक्स चियाको वार्षिक कारोबार १४ अर्ब रुपियाँ बराबर रहेको र इलाम र झापामा गरी १ लाख बढी श्रमिकले रोजगारी गुमाएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

नेपालमा इलाम र झापामा उत्पादन भएको चियामध्ये ५ अर्ब रुपियाँ बराबरको चिया भारत निर्यात हुने गरेको थियो ।

भारतीय चिया बोर्डले नयाँ एसओपी लागू गरेपछि नेपाली चिया निर्यातमा समस्या भएको छ । ‘विभिन्न प्रकारका गुणस्तर परीक्षण, जटिल प्रक्रिया तथा भण्डारणसम्बन्धी व्यवस्थाका कारण नेपालबाट भारततर्फ चिया झण्डै दुई महिनायता हुन नसकेको नेपाल चिया उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष आदित्य पराजुलीले पत्रकार सम्मेलनमा बताउनु भयो ।

भन्सार नाकाबाट निर्यात भइसकेको तयारी चियासमेत भारतीय खरिदकर्ताको गोदाममा राख्नुपर्ने अवस्था सिर्जना भएको छ । भारतीय चिया बोर्डले सो चियाको नमूना परीक्षण गराउने लैजाने र परीक्षण रिपोर्ट आउन २० देखि २५ दिनसम्म लगाउने गरेको कारणबाट गोदाममा थन्काइएको चियाको गुणस्तरमा समेत क्षति भइरहेको छ ।

ल्याब रिपोर्टमा चियाको गुणस्तर कमजोर देखिएको खण्डमा गोदामको चिया नष्ट गर्नुपर्ने जस्ता अव्यवहारिक नियमहरू भारतीय पक्षले थपिदिएकोले नेपाली चिया उद्योगमा सङ्कट आइपरेको छ ।

इलाम र झापाका चिया उद्योगले भारत पठाएको चियाको पैसा पाउने हो कि होइन अब टुङ्गो नभएको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ । चियाको परीक्षणकाल भरिको गोदाम भाडा पनि उद्योगीले स्वयम तिर्नुपर्ने अनिवार्य व्यवस्था गरिएकाले नेपाली चिया उद्योगीलाई झनै सकस भएको नेपाल चिया उत्पादक सङ्घका केन्द्रीय अध्यक्ष आदित्य पराजुलीको भनाइ छ ।

भारतीय नयाँ नीतिका कारण चिया गोदाममा टिपिएको चिया थन्किदा किसानलाई हरियो चिया पत्तीको मूल्य,विद्युत महसुल तथा मूल्य अभिवृद्धि कर (भ्याट) लगायतका दायित्व समयमै भुक्तानी गर्न सक्ने अवस्था नभएको चिया उद्योगीहरूले पत्रकार सम्मेलनमा बताएका छन् ।

सरकारले चिया क्षेत्रमा आइपरेको समस्याहरूको तत्काल समाधान नगरे चिया उद्योग नखोल्ने सङ्घका वरिष्ठ उपाध्यक्ष शिवकुमार गुप्ताले बताउनु भयो ।

नेपाली चिया निर्यात प्रभावित भएको भन्दै समस्या समाधानका लागि पहल गरिदिन चिया उद्योगी व्यवसायीले जिल्ला प्रशासन कार्यालय, झापामार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारी अञ्जन न्यौपानेलाई नेपाली चियालाई लिएर भारत सरकारले अपनाएको नीति खारेज गर्न माग गर्दै असार ३ गते ज्ञापनपत्र बुझाइएको सङ्घका महासचिव शुक्र दाहालले बताउनु भएको छ ।

नरेश खाती

अन्य

भिडियो