INSEC Online

📅 २०८३ जेष्ठ २१

बालविवाह घटनाका आरोपित गिरफ्तार

बालविवाह हुन लागेको भन्ने सूचनाका आधारमा प्रहरीले घटनाका आरोपितहरू तीनजनालाई फागुन २९ गते मन्दिर परिसरबाट गिरफ्तार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय सल्यानले फागुन २९ गते तीन जनालाई गिरफ्तार गरेको छ । आरोपितहरूलाई खैरावाङ्ग मन्दिर परिसरबाट गिरफ्तार गरिएको प्रहरीले जनाएको छ ।

गिरफ्तार हुनेमा बेहुला शारदा नपा–२ मेलघारी बस्ने २० वर्षीय खुमबहादुर वली, १५ वर्षीया बेहुली र ३६ वर्षीया बेहुलीकी आमा रहेको जिल्ला प्रहरी कार्यालय, सल्यानका डिएसपी बिरेन्द्रबहादुर शाहीले जानकारी दिएका छन् । आरोपितहरू विवाहका लागि तयारी अवस्थामा रहेको बेलामा गिरफ्तार गरिएको डिएसपी शाहीले बताए ।

बालविवाह हुन लागेको खबर पाउने बित्तिकै शारदा नपा–२ का वडाअध्यक्ष केशवसिंह श्रेष्ठले खैरावाङ्ग मन्दिरका पुजारी दिनबन्धु शर्मालाई फोन गरी बालविवाह रोक्न आग्रह गरेका थिए ।

सोही बेला प्रहरी मन्दिरमा पुगेर आरोपितहरूलाई गिरफ्तार गरेको थियो । गिरफ्तार गरिएका सबैजनाका विरूद्ध सोही दिन उजुरी दर्ता गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आरोपितहरू उपर बालविवाह उद्योग गरेको कसुर अन्र्तरगत मुद्दा दर्ता प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।

यसैबिच मन्दिरका पुजारी दिनबन्धु शर्माले मन्दिरबाटै बालविवाह विरूद्धको अभियान चलाउने बताएका छन् ।

उनले खैरावाङ्ग मन्दिरमा विवाहको लागि आउनेहरूलाई उमेर खुल्ने कागज बिना विवाह नगरिदिने बताए । ‘पहिले वडा कार्यालयसँग सहकार्य गरी मन्दिरलाइ बालविवाह निषेधित क्षेत्र बनाउँछु ।’–उनले भने–‘त्यसपछि उमेर खुल्ने कागजका आधारमा २० वर्ष पूरा भएको प्रमाण पुगेपछि मात्रै विवाह गराउँछु ।’

शारदा नपा–२ का वडाअध्यक्ष केशवसिंह श्रेष्ठले आफूले बालविवाहका विरूद्ध वडामा सचेतनामुलक अभियान सञ्चालन गर्ने बताए ।

कर्णाली प्रदेश सरकारको एक प्रतिवेदन अनुसार सल्यान जिल्ला कर्णाली प्रदेशमै सबैभन्दा बढी बालविवाह हुने जिल्ला हो ।

अन्य

भिडियो