मानव अधिकार रक्षक सञ्जाल कोशी प्रदेशको त्रैमासिक बैठक ०८३ जेठ २९ गते विराटनगरमा सम्पन्न भएको छ ।
मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत इन्सेकद्घारा गठन गरिएको प्रदेशस्तरीय मानव अधिकार रक्षक सञ्जालको त्रैमासिक बैठक जेठ २९ गते इन्सेक कोशी प्रदेश कार्यालय, विराटनगरको हलमा सम्पन्न गरिएको हो ।
मानव अधिकार रक्षक सञ्जालका संयोजक देवी बाँस्कोटाको अध्यक्षतामा सम्पन्न बैठकले प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ल्याउन लागेको बजेटमा मानव अधिकारको संरक्षण र सम्वद्र्वनका लागि बजेट बिनियोजनका लागि ध्यानाकर्षण बुझाउने, आगामी बैठकमा सञ्जालका सदस्य संस्थाहरुले गरेका कामहरुको विषयमा रिपोर्टिङ गर्ने, मानव अधिकारको वर्तमान अवस्था, मानव अधिकार रक्षकहरूले भोगिरहेका चुनौती, कानुनी संरक्षणका विषयमा साझा पहल गरी त्यसको अनुगमन गर्ने निर्णय गरिएको छ । बैठकले कोशी प्रदेश सरकार तथा स्थानीय सरकारका आगामी नीति तथा कार्यक्रम र बजेटमा मानव अधिकारका मुद्दामा बजेट विनियोजनका लागि कार्यक्रम प्रस्तावना पेश गर्ने निर्णय समेत गरेको छ । साथै बैठकले शिक्षा र स्वास्थ्यको अधिकारसम्बन्धी अन्तरक्रिया कार्यक्रमको आयोजना गर्ने, प्रदेश सरकार र स्थानीय सरकारलाई स्थानीयस्तरमा मानव अधिकार रक्षक सञ्जाल, महिला, बालबालिका, दलित तथा पछाडि पारिएका अन्य अल्पसङ्ख्य र जोखिममा परेका समुदायको आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारको संरक्षणका लागि पहल गर्ने निर्णय गरेको छ ।

बैठकले शिक्षा, स्वास्थ्य र वातावरणको अधिकारसम्बन्धी विषयमा कानुनी प्रावधानहरूको पहुँचमा वृद्धि र स्थानीय सरकारले निर्णय प्रक्रियामा लक्षित समुदायको प्रतिनिधित्व गराउने विषयमा सञ्जालमार्फत ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।
बैठकमा मानव अधिकार रक्षक सञ्जालले ०८३ वैशाख १४ गते सुनसरीको दुहवी नगरपालिकामा आयोजना गरेको वातावणीय अधिकार र मानव अधिकार अन्तरक्रिया कार्यक्रममाथि समीक्षा समेत गरेको छ । त्यस्तै गरी सञ्जालद्घारा ०८३ जेठ ७ गते मोरङ व्यापार संघको समन्वयमा आयोजना गरेको व्यवसाय र मानव अधिकार अन्तरक्रिया कार्यक्रमले उठाएका विषयमाथि समेत सञ्जालका सदस्यीयहरूबिच समीक्षा गरिएको छ ।
त्रैमासिक बैठकमा इन्सेक कोशी प्रदेश संयोजक मनोहरकुमार पोरखेलले मानव अधिकार शिक्षा कार्यक्रम अन्तरगत गठन गरिएको सञ्जालको भूमिका स्थानीय सरकार र प्रदेश सरकारलाई मानव अधिकारका सवालमा जिम्मेवारी बनाउन महत्वपूर्ण हुने बताउनु भएको थियो ।