INSEC Online

बागमती गाउँपालिकामा मानव अधिकार प्रशिक्षण कार्यक्रम सम्पन्न

बागमती गाउँपालिका र इन्सेक बागमती प्रदेशको आयोजना, राष्ट्रिय मानव अधिकार आयोगको सहकार्य र स्वाधीन खबरपत्रिकाको समन्वयमा मकवानपुर जिल्लाको बागमती गाउँपालिकामा स्थानीय तह र मानव अधिकार सम्बन्धी प्रशिक्षण कार्यक्रम ०८३ जेठ २९ गते सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन समारोहमा बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलानले  समाजमा हुनेगरेका मानव अधिकार उल्लंघनका घटनाहरू मानव अधिकार शिक्षाको कमीको कारण हुने गरेको बताउनु भयो । साथै, उहाँले नागरिकका आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकारहरु कानुनमा उल्लेख भएतापनि कार्यान्वयनमा व्यवहारिक चुनौती रहेकोले प्रशिक्षण कार्यक्रम मार्फत सहभागिहरुले प्राप्त गर्ने ज्ञान मानव अधिकार संरक्षणका लागि उपयोगी हुने बताउनु भयो ।

प्रमुख प्रशासकीय अधिकृत ओम बहादुर दर्जीले कार्यक्रममा स्थानीय तहले आफ्नो नीति तथा कार्यक्रम तयार गर्दा मानव अधिकारलाई मुख्य रूपमा जोडिदिँदै आएको र आगामी नीति तथा कार्यक्रममा समेत उच्च प्राथमिकतामा राख्ने बताउनु भयो । उहाँले नागरिकहरुले अधिकारसँगसँगै कर्तब्यको पालना गर्नुपर्ने बताउँदै मानव अधिकारको संरक्षण र संवद्र्धन अभियानमा सबैको प्रतिबद्धता रहको विश्वास व्यक्त गर्नुभयो ।

राष्ट्रिय मानव अधिकार आयोगका सह सचिव यज्ञ प्रसाद अधिकारीले मानव अधिकार कसैको कृपा र दया नभई जन्मसिद्ध अधिकार रहको बताउनु भयो । सहसचिव अधिकारीले वर्तमान सन्दर्भमा विकास, समृद्धि, रोजगारी, स्वच्छ पर्यावरण , प्राविधिक शिक्षा जस्ता विषयमा स्थानीय सरकारले ध्यान दिनुपर्ने र त्यसमा पनि विद्यालय भर्ना दर लाई शत प्रतिशत बनाई अध्ययन समय पुरा नभई विद्यार्थी छाड्ने दरलाई कम गर्नुपर्ने विषयमा जोड दिनु भयो ।

इन्सेक बागमती प्रदेश संयोजक शिव प्रसाद खकुरेलले प्रत्येक स्थानीय तहले कुनै पनि विकास योजना तर्जुमा गर्दा मानव अधिकार मैत्री विकास पद्धतिलाई अबलम्बन गर्न आवश्यक रहेको बताउनु भयो । मानव अधिकार रक्षक संजाल, कागमती प्रदेशका सदस्य रुद्र बहादुर खड्काले प्रशिक्षण कार्यक्रम मानव अधिकार संरक्षण र संवद्र्धन गर्ने उद्देश्यले गरिएको बताउनु भयो । साथै, उहाँले गाउँपालिकाको बजेट नीति तथा कार्यक्रममा विपन्न, महिला, दलित, आदिवासी, जनजाति तथा पछाडी पारिएका वर्गको उत्थानका लागि बजेट विनियोजन गरी मानव अधिकार संरक्षण गर्न अपिल गर्नुभयो ।

मेलमिलापकर्ता बाबुराम लामाले प्रशिक्षण कार्यक्रमबाट मेलमिलापकर्ताले प्रभावकारी मेलमिलापको विधि बारे जानकारी हासिल गरेको बताउनु भयो । उहाँले बिना तलब सुविधा मेलमिलापकर्ताले काग गर्नुपर्ने भएकाले मेलमिलाप कार्य नतिजा मुलक हुन नसकेको समेत गुनासो गर्नुभयो ।

कार्यक्रममा सहभागी शिक्षक शिक्षिकाहरुले मानव अधिकारलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न मानव अधिकारको विषय विद्यालय पाठ्यक्रममा समावेश गरिनु पर्नेमा जोड दिनुभयो । कार्यक्रममा मानव अधिकार, सुशासन र शिक्षाको अधिकारका विषयमा यज्ञ प्रसाद अधिकारी,  स्थानीय तह र मानव अधिकारमैत्री विकास पद्धतिका बारेमा शिव प्रसाद खकुरेलले र मानव अधिकार र स्थानीय न्यायिक समितिको विषयमा कृष्ण प्रसाद मिश्रले सहजीकरण गर्नु भएको थियो ।

यसै कार्यक्रममा विच आगामी आ.व का लागि मानव अधिकार र कर्तव्य सम्बन्धी सचेतना मुलक कार्यक्रम, युवा मानव अधिकार रक्षक सम्मेलन, वातावरण र मानव अधिकार सचेतना कार्यक्रमका साथै अनलाइन दुर्व्यवहार तथा डिजिट साक्षरता कार्यक्रम समेत समावेश गर्न इन्सेक बागमती  प्रदेश संयोजक खकुरेलले गाउँपालिका अध्यक्ष सर्केश घलान समक्ष प्रस्ताव पत्र पेश गर्नु भएको थियो ।   

इन्सेक बागमती प्रदेश कार्यालय

अन्य

भिडियो