INSEC Online

बाढीबाट प्रभावित भएका ७३ परिवारलाई घर हस्तान्तरण

भङ्गहा नगरपालिकामा बाढीबाट प्रभावित भएका ७३ परिवारलाई ०८३ जेठ ३१ गते घर हस्तान्तरण गरिएको छ । गत असोज १९ र २० गते जिल्लाको रातो खोलामा आएको बाढीका कारण घरवारविहीन भएका भङ्गहा नगरपालिकाका दलित, गरीब र अतिविपन्न ७३ परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरिएको हो ।

गुड नेवर्स इन्टरनेशनल नेपालको आर्थिक सहयोगमा साझेदार संस्था दलित समाज उत्थान समिति नेपालले नगरभित्र सञ्चालन गरेको एकीकृत सामुदायिक विकास परियोजनाअन्तर्गत यहाँका बाढी पीडित परिवारलाई निर्माण सामग्री सहयोग गरी घर बनाएर सम्बन्धित व्यक्तिलाई हस्तान्तण गरेको हो ।

भङ्गहा-४ स्थित थारुटोलमा आयोजित एक कार्यक्रममा नगरप्रमुख सञ्जीवकुमार साहलाई गुड नेवर्स इन्टरनेशनलका प्रतिनिधि टुपेन्द्र खुलाल र दलित समाज उत्थान समितिका प्रतिनिधि रामभजन महतोले संयुक्त रूपमा घरको प्रमाणपत्र हस्तान्तरण गर्नुभयो । सहयोगी संस्थाले भङ्गहा-१ मा एक, वडा नं २ मा तीन, वडा नं ३ मा आठ, वडा नं ४ मा १२, वडा नं ५ मा आठ, वडा नं ६ मा १२, वडा नं ७ मा आठ, वडा नं ८ मा पाँच र वडा नं ९ मा १६ वटा घर निर्माण गरेका छन् । १ करोड १ लाख ७१ हजार ५ सय ७४ रुपियाँ खर्च गरेर निर्माण गरिएका ७३ वटा घरबाट ३ सय ७५ जना प्रत्यक्ष लाभान्वित भएका एकीकृत सामुदायिक विकास परियोजनाले जनाएको छ ।

घर हस्तान्तरण कार्यक्रममा नगरप्रमुख साहले पालिकाभित्रका दलित, गरिब र अतिविपन्न बाढी पीडित ७३ परिवारलाई घर बनाउन सहयोग गर्ने सहयोगी संस्थाहरूप्रति आभार व्यक्त गर्नुभयो । उहाँले पालिकाभित्र यी संस्थाहरूले शिक्षा, स्वास्थ्य, सरसफाइ, बाल अधिकार, बालविवाहमुक्त अभियान, आयआर्जनलगायत क्षेत्रमा पुर्‍याएको सहयोगको प्रशंसा गर्नुभयो । उहाँले नगरको समग्र विकासका लागि आगामी दिनमा निरन्तर सहयोगका लागि आग्रह गर्नुभयो ।

रासस

अन्य

भिडियो