जिल्ला प्रहरी कार्यालय धनुषाको हिरासत कक्षबाट फरार भएका एक नाबालकसहित नौ जना थुनुवालाई धनुषा जिल्ला अदालतले ०८३ जेठ २९ गते एक वर्षको कैद सजाय सुनाएको छ।
न्यायाधीश शुभाषबाबु पुरीको इजलासले कैदीहरू भागेको सम्बन्धमा दायर भएको मुद्दामा अभियोग दाबी पुग्ने ठहर गर्दै फैसला सुनाएको अदालतका श्रेस्तेदार दीपक पोखरेलले बताउनुभयो ।
लागूऔषध मुद्दामा हिरासतमा रहेका जनकपुरधाम उपमहानगरपालिका–२० रुपैठाका २५ वर्षीय अमित कुमार झा, जनकपुरधाम उपमहानगरपालिका–४ का १७ वर्षीय विशाल मुखिया, धनौजी गाउँपालिका–७ का २६ वर्षीय रञ्जित मण्डल, सिरहा जिल्लाको सिरहा नगरपालिका–१३ का ३३ वर्षीय रोशनकुमार मण्डल तथा औरही गाउँपालिका–२ का २३ वर्षीय अभाष्करकुमार यादव त्यसैगरी, अभद्र व्यवहार मुद्दाका आरोपित जनकपुरधाम उपमहानगरपालिका–१ का १८ वर्षीय सुमित मेस्तर, जनकपुरधाम उपमहानगरपालिका–४ का २२ वर्षीय बिक्की कार्की र नगराइन नगरपालिका–२ का १८ वर्षीय मनिष मण्डल ०८१ असोज ६ गते रातिका प्रहरी कार्यालयको हिरासत कक्षस्थित शौचालयको भेन्टिलेसन फोडेर फरार भएका थिए। प्रहरीले असोज ८ गतेसम्म सबै थुनुवालाई गिरफ्तार गरेको थियो ।