इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीको आयोजनामा पीडितहरुको न्यायमा पहुँच विषयक अन्तरक्रिया कार्यक्रम ०८३ जेठ २९ गते धनगढीमा सम्पन्न भएको छ ।
इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका संयोजक खडकराज जोशीले विभिन्न प्रकृतिका घटनाका पीडितहरुले न्याय प्राप्तीमा भोग्नु परेका चुनौती र त्यसको निराकरणका उपायहरु खोजी गरी पीडितहरुलाई निष्पक्ष, सुलभ र छिटोछरितो न्याय प्रदान गर्न सरोकारवाला पक्षहरुको भुमिका खोजी गर्ने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको बताउनु भयो ।

कार्यक्रममा उपस्थित घरेलु हिंसा पीडित महिला, बलात्कार तथा बलात्कारबाट पीडित महिला तथा बालबालिकाका अभिभावक र विभिन्न समयमा राज्य र गैरराज्यपक्षबाट पीडित भएका पीडितहरुले आफूहरुले सहज न्याय पाउन नसकेको गुनासो गर्नुभएको थियो ।
राष्ट्रिय मानव अधिकार आयोग सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीका प्रमुख प्रकाशदत्त भट्टले पीडितहरुका पक्षमा वकालत गर्ने अधिकारकर्मी तथा संघसंस्थाहरुलाई मुद्दाको प्रकृतिका सन्दर्भमा स्पष्ट जानकारीको अभावले गर्दा पनि पीडितको न्याय प्राप्तीमा समस्या देखिएकोले देवानी र फौजदारी मुद्दाका बारेमा स्पष्ट हुन आवश्यक रहेको बताउनु भयो । यसका लागि जिल्ला प्रहरी कार्यालयले नागरिक समाज तथा अधिकारकर्मीहरुसँग सहकार्य र समन्वय गरी सहयोग गर्नु पर्ने र पीडितहरुलाई यथासक्य चाडो न्याय प्राप्ती गर्ने वातावरण सृजना गर्नु पर्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘समुदायस्तरमा चेतनामुखी कार्यक्रम आयोजना गर्नु पर्छ । विद्यालय तथा क्याम्पसहरुमा पनि अधिकारका बारेमा सचेतना बढाउनु पर्छ । समुदायमा प्रहरी भन्ने नारालाई प्रभावकारी बनाउन प्रहरीले संघसंस्थासँग समन्वय गरेर काम गर्नु पर्छ । आर्थिक अवस्था कमजोर भएका र न्यायिक निकायहरुमा पहुँच नभएका पीडितहरुको पक्षमा सबै तहबाट सहयोग गर्नु पर्छ । यसका लागि राष्ट्रिय मानव अधिकार आयोगले अधिकार क्षेत्रभित्र पर्ने सबै कार्यहरु गर्न तयार रहेको छ ।’
जिल्ला सरकारी वकिल कार्यालयका सहन्यायाधिवक्ता लोकबहादुर रावलले फौजदारी मुद्दाका पीडितहरुको न्यायका पक्षमा आफूहरुले निरन्तर वकालत गर्दै आएको भए पनि यथेष्ट प्रमाणको अभावमा कहिलेकाही पीडित पक्षले न्याय पाउन नसकेको र आरोपित पक्षले अदालतबाट सफाइ पाउने गरेको बताउनु भयो ।

पीडितहरुको न्यायका लागि नागरिक संघसंस्था, मानव अधिकारकर्मी, पत्रकार तथा आम सचेत नागरिकले समयमै प्रहरीमा सूचना प्रदान गरेर सहयोग गर्न आवश्यक रहेको उहाँले बताउनु भयो ।
जिल्ला प्रहरी कार्यालय, कैलालीका इन्स्पेक्टर ज्ञानेन्द्रबहादुर सिंहले फौजदारी मुद्दाका पीडितहरुको न्यायका लागि प्रहरीले घटनाको निष्पक्ष अनुसन्धान गरी सरकारी वकिल कार्यालयमा बुझाउने गरेको र अदालतको फैसलालाई कार्यान्वयनका लागि पनि सहयोग गर्ने गरेको बताउनु भयो ।
जिल्ला अदालत बार इकाइका अध्यक्ष नाथूराम महतोले आर्थिक अवस्था दयनीय भएका पीडितहरुको न्यायका लागि निःशुल्क रुपमा सेवा दिने गरेको र हालसम्म १८ ओटा मुद्दाहरु निःशुल्क रुपमा जिल्ला अदालतमा दर्ता गरी कानुनी प्रक्रियामा रहेको बताउनु भयो ।