नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले गरेको फागुन ३० गतेको नेपाल बन्दको कारण प्रदेश ३ का १३ जिल्लाको जनजीवन आंशिक प्रभावित भएको इन्सेक प्रतिनिधिहरूले जनाएका छन् ।
काठमाडौँ उपत्यकामा निजी सवारी थोरै मात्र चलेका छन् भने सार्वजनिक सवारी साधन कमै चलेका छन् ।
ललितपुर प्रतिनिधि दीपकप्रसाद घिमिरेका अनुसार ललितपुर जिल्लामा विद्यालयहरू बन्द रहेको छ भने पहाडी क्षेत्रबाट काठमाडौँमा आउने सार्वजनिक यातायातका साधन चलेका छैनन् ।
भक्तपुर प्रतिनिधि सविना केसीका अनुसार जिल्लामा पनि बन्दको प्रभाव आंशिकरूपमा परेको बताइन् ।
बन्दका कारण सार्वजनिक यातायातका साधनहरू सञ्चालन नभए पनि निजी यातायतका साधनहरू सञ्चालनमा रहेको भन्दै बन्दको प्रभाव सबै भन्दा बढी शैक्षिक क्षेत्रमा परेको छ ।
सिन्धुपाल्चोक प्रतिनिधि नातिबाबु धितालका अनुसार चौतारा साँगाचोकगडी नगरपालिका-८ मा प्रेसर कुकर बम फेला परेको र उक्त बमलाई नेपाल सेनाको टोलीले निष्कृय पारेको थियो । बन्दका कारण पठन-पाठन हुन सकेन भने यातायातका साधन चलेका छैनन् ।
सिन्धुली प्रतिनिधि बिमला पाण्डेका अनुसार सिन्धुली जिल्लामा पनि बन्दको प्रभाव देखिएको छ ।
विद्यालयहरू बन्द रहेका छन् भने सार्वजनिक यातायातका साधनहरू चलेका छैनन् ।
दोलखा प्रतिनिधि उद्धव पोखरेलका अनुसार बन्दका कारण संस्थागत विद्यालयहरू बन्द रहेका र केही सामूदायिक विद्यालय खुलेको बताए । यातायातका साधनहरू कम सञ्चालनमा भएका छन् ।
चितवन प्रतिनिधि दीपेन्द्र अधिकारीका अनुसार विद्यालय र बजार बन्द रहेका छन् । बन्दका कारण व्यक्तिगत सवारी साधन फाटफुट रूपमा चले पनि सार्वजनिक र निजी सवारी साधन चलेका छैनन् । उनका अनुसार सरकारी कार्यालयहरूमा सेवाग्राहीको चाप न्यून छ ।
धादिङ प्रतिनिधि सीताराम अधिकारीका अनुसार जिल्लाको सदरमुकामका विद्यालय बन्द रहेका छन् भने प्रहरीको स्कर्टिङमा राजमार्गमा यातायातका साधनहरू सञ्चालनमा रहेको र जिल्लाको अवस्था सामान्य छ ।
नुवाकोट प्रतिनिधि नवदीप श्रेष्ठका अनुसार निजी विद्यालयहरू पूर्णरूपमा बन्द रहे पनि केही सरकारी विद्यालय सञ्चालन आएका छन् भने सरकारी तथा सार्वजनिक यातायातका साधन ठप्प छन् ।
रसुवा प्रतिनिधि हेमनाथ खतिवडाका अनुसार बजार सामन्य रुपमा खुलेको भए पनि रसुवाबाट काठमाडौँ सम्म आउने सार्वजनिक यातायातका साधन नचलेको र विद्यालयहरू बन्द रहेका छन् ।
काभ्रे प्रतिनिधि भोजराज तिमल्सिनाका अनुसार बन्दको सबैभन्दा बढी प्रभाव शिक्षा क्षेत्रमा देखिएको, बजार आंशिक बन्द रहेको र सार्वजनिक सवारी साधन कम चलेका छन् ।
रामेछाप प्रतिनिधि नवराज पथिकका अनुसार बन्दका कारण शिक्षण संस्थाहरूमा पठनपाठन प्रभावित भएको छ । मन्थली लगायतको बजार क्षेत्र खुल्ला रहे पनि वन्दका कारण मन्थली हुँदै काठमाडौँ तथा तराइतर्फ जाने बसहरू सञ्चालनमा आएका तर मन्थलीबाट काठमाडौँ चल्ने माइक्रो बस र सुमो भने कम चलेको उनले बताए ।
मकवानपुर प्रतिनिधि पुष्पराज अधिकारीका अनुसार थाह नगरपालिका-४ नयागाउँमा काठमाडौँबाट हेटौँडातर्फ आइरहेको ना ५ ख ७४११ नम्बरको ट्रकमा गएराति १ बजे आगजनी भएको मकवानपुर जिल्ला प्रहरी कार्यालयका एसपी मुकेश सिंहले बताएको छन् । पालुङ र दामनको जंगलकोबीचमा पर्ने नयागाउँमा चालक, सहचालक सहित तीन जना रहेको ट्रकलाई रोकी हतियार देखाइ अज्ञात समूहले पेट्रोल खन्याएर आगजनी गरेको प्रहरीले बताएको छ ।