INSEC Online

📅 २०८३ जेष्ठ २३

हत्या घटनाका आरोपित गिरफ्तार

दमक नगरपालिका–८ की २१ वर्षीया रमा तिवारीको जेठ १३ गते हत्या गरेको आरोपमा प्रहरीले एक जना भारतीय नागरिकलाई जेठ २१ गते गिरफ्तार गरेको छ ।

२१ वर्षीया युवतीको बलात्कारपछि ०८३ जेठ १३ गते घाँटी थिचेर हत्या गरेको आरोपमा प्रहरीले भारत राज्य बिहार जिल्ला अररिया ग्राम पञ्चायत सिरसियाकला थाना भरगामा स्थायी घर भइ दमक नगरपालिका–५ मा डेरा गरी टायल्स मिस्त्रीको काम गर्ने ३४ वर्षीय राकेशकुमार पण्डितलाई जेठ २१ गते कोठाबाट गिरफ्तार गरिएको इलाका प्रहरी कार्यालय, दमकका डिएसपी हरिबहादुर बस्नेतले बताउनु भयो ।

प्रारम्भिक अनुसन्धानको क्रममा मृतकसँग पैसासम्बन्धी विवाद भई झगडाको क्रममा हत्या गरेको भनि आरोपित पण्डितले स्वीकार गरेको डिएसपी बस्नेतले बताउनु भयो ।

युवतीको शव दमक नगरपालिका–१० स्थित सेतुमारी क्षेत्रमा रहेको रतुवा खोलाको पुलमुनि जेठ १६ गते बोराभित्र पोको पारिएको अवस्थामा फेला परेको थियो ।

मृतकले लगाएको कपडाका आधारमा मृतकका बाबु नारायण तिवारीले शवको सनाखत गरेपछि सोहीदिन वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, घोपामा गरिएको थियो ।

पीडित पक्षले जेठ १८ गते शव बुझी इसाइ परम्परा अनुसार सद्गत गरेको थियो ।

घटनापछि कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्राविधिकसहितको प्रहरी टोली, नेपाल प्रहरी प्रदेश प्रहरी कार्यालय धरान सुनसरी र इलाका प्रहरी कार्यालय दमक सहितको संयुक्त प्रहरी टोलीले घटनास्थललाई सुक्ष्म निगरानी, प्राविधिक विश्लेषण तथा वारदात स्थल वरपरको सीसीटीभी फुटेजको अध्ययन एवम विश्लेषणको क्रममा घटनामा संलग्न पण्डितको पहिचान गरेको थियो ।

युवतीको जेठ १३ गते राति हत्या गरेपछि आरोपित पण्डित १४ गते भारत गएको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ । घटनामा मृततका ब्वायफ्रेन्डको नाम जोडिएपछि आफूलाई सुरक्षित ठानेर उनी जेठ १६ गते भारतबाट दमक फर्किएको र सोही राति प्रहरीले गिरफ्तार गरेको थियो ।

आरोपितविरुद्ध प्रहरीले जिल्ला सरकारी वकिलको कार्यालयमार्फत जिल्ला अदालतमा जेठ २२ गते बलात्कार र कर्तव्य ज्यान शीर्षकमा मुद्दा दर्ता गरी कारबाही अघि बढाएको छ ।

नरेश खाती

अन्य

भिडियो