INSEC Online

📅 २०८३ जेष्ठ २२

छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा अन्तरक्रिया

धुलिखेल नगरपालिकाको आयोजना र अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) को सहकार्यमा जातीय भेदभाव तथा छुवाछुत उन्मुलन राष्ट्रिय दिवसका अवसरमा ०८३ जेठ २१ गते धुलिखेलमा छलफल कार्यक्रम सम्पन्न भयो।

धुलिखेल नगरपालिकाको सभाहलमा आयोजित कार्यक्रममा कार्यवाहक नगर प्रमुख निराजन जंगमले स्थानीय सरकारलाई अप्ठ्यारो अवस्थामा सम्झनुपर्ने उल्लेख गर्नुभयो । उहाँले जातीय भेदभाव र छुवाछुतका सवालहरू भएमा स्थानीय सरकारलाई सम्झनका लागि अनुरोध पनि गर्नुभयो ।

इन्सेकका बागमती प्रदेश संयोजक शिव खकुरेलले नेपाल छुवाछुतमुक्त राष्ट्र घोषणा भइसकेको उल्लेख गर्नुभयो । वर्ण व्यवस्थामा आधारित नेपाली समाजमा सार्वजनिक स्थल, उत्पादन गरिएका वस्तु तथा खाद्यान्नमा रोक, अन्तरजातिय विवाह र मन्दिर प्रवेशमा रोक लगाएको, महिला जनप्रतिनिधिलाई दुर्व्यवहार गरेको, जातिय आधारमा अवसर, सेवा र सुविधाबाट वञ्चित गरेका घटनाहरू सार्वजनिक भइरहेका छन् । संघीय सरकारले नीति–नियम र ऐन कानुन बनाउने काम गरिरहेको सन्दर्भमा छुवाछुतमुक्त समाज निर्माणका लागि तीनै तहका सरकार लाग्नुपर्ने उहाँले बताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका शाखा अध्यक्ष विनोद न्यौपानेले तुलनात्मक रुपमा छुवाछुतका घटनामा कमी आएको उल्लेख गर्नुभयो । इन्सेकका परामर्शदाता तथा अधिकारकर्मी सुशील विश्वकर्माले जातीय आवागमन, वर्णभेद, श्रमविभाजन, बर्ग सङ्घर्ष, कुलिनता र धार्मिक विद्वेषजस्ता कुराले नेपाल लगायत धेरै देशमा मानविय भेदभाव देखा परेको बताउनुभयो ।

धुलिखेल नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद मरासिनीले स्वागत गर्नुभएको कार्यक्रममा धुलिखेल नगरपालिका–३ का वडाध्यक्ष गणेश आचार्य र अधिकारकर्मी चमार विश्वकर्माले छुवाछुतमुक्त समाज हेर्ने हाम्रो चाहना विस्तारै पूरा हुन थालेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागीहरूले दलित समुदायले भोगेका पीडाहरूलाई प्रस्तुत गरेका थिए । दिवसका अवसरमा जेठ २१ गते विहान धुलिखेल नगरपालिकामा एक प्रभातफेरी आयोजना गरी बजार परिक्रमा गरिएको थियो । सरकारले २०६३ जेठ २१ गते जातिय भेदभाव तथा छुवाछुत उन्मुलनको घोषणा गरेको अवसरमा २०६८ सालदेखि यो दिवस मनाउने गरिएको छ ।

 

 

सुमित्रा आचार्य 

अन्य

भिडियो