रोहिणी गाउँपालिकामा विद्यालय व्यवस्थापन समिति गठन र शिक्षक सरुवाको विषयमा छलफल गर्न बसेको बैठकमा विवाद चर्किँदा जनप्रतिनिधिबीच कुटपिट भएको छ।
रोहिणी गाउँपालिका–२ स्थित श्रीराम आधारभूत विद्यालयमा शिक्षक सरुवा सहमति तथा विद्यालय व्यवस्थापन समिति गठनसम्बन्धी विषयमा छलफल भइरहेका बेला गाउँपालिका अध्यक्ष विद्या यादव र वडा नं. २ का अध्यक्ष कारम हुसेन खान पक्षबीच विवाद भएको हो। कुटपिटका क्रममा स्थानीय कान्छा कोहार घाइते भएका छन्।
वडा अध्यक्ष कारम हुसेन खानले गाउँपालिका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत तथा अन्य सरोकारवालाको उपस्थितिमा बैठक चलिरहेका बेला कान्छा कोहार जबरजस्ती बैठकमा प्रवेश गरी आफूमाथि हातपात गरेको आरोप लगाउनुभयो। उहाँले आत्मरक्षाका लागि प्रतिकार गरेको दाबी गर्नुभयो।
“बैठकको वातावरण बिगार्ने गरी कोहार बैठकमा प्रवेश गरेर ममाथि हातपात गर्नुभयो। त्यसपछि मैले आत्मरक्षाका लागि प्रतिकार गरेको हुँ,” वडा अध्यक्ष खानले बताउनुभयो।
यता गाउँपालिका अध्यक्ष विद्या यादवले वडा अध्यक्षको दाबी अस्वीकार गर्दै स्थानीय नागरिकमाथि अनावश्यक रूपमा कुटपिट गरिएको बताउनुभयो। विद्यालय व्यवस्थापन समिति गठन र शिक्षक सरुवाको विषयमा छलफल भइरहेका बेला विवाद बढ्दै गएको उहाँको भनाइ छ।
“कुनै पनि नागरिकमाथि जनप्रतिनिधिले हात उठाउने अधिकार हुँदैन। विवाद भए पनि संवाद र सहमतिमार्फत समाधान खोज्नुपर्छ,” अध्यक्ष यादवले बताउनुभयो।
कुटपिटबाट घाइते भएका कान्छा कोहारको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज (यूसीएमएस) शिक्षण अस्पतालमा उपचार भइरहेको परिवार स्रोतले जनाएको छ।
स्थानीयवासीका अनुसार विद्यालय व्यवस्थापन समिति गठन तथा शिक्षक सरुवाको विषयमा केही समयदेखि वडा तह र गाउँपालिका नेतृत्वबीच मतभेद रहँदै आएको थियो। सोही विवादको असर बैठकमा देखिएको बताइएको छ। वडा अध्यक्ष र गाउँपालिका अध्यक्षबीच यसअघि पनि पटक–पटक विवाद हुँदै आएको स्थानीयको भनाइ छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका इन्सपेक्टर दिनेशबहादुर कुँवरका अनुसार जनप्रतिनिधिबीच हातहालाहाल भएको र सोही क्रममा कान्छा कोहार भुइँमा लडेका थिए। विवाद बढेपछि इलाका प्रहरी कार्यालय धकधईले थप प्रहरी बल माग गरेको र सुरक्षा व्यवस्थाका लागि प्रहरी परिचालन गरिएको उहाँले बताउनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।