INSEC Online

📅 २०८३ जेष्ठ २२

पाल्पामा विषालु च्याउ सेवनबाट दुई सातामै चार जनाको मृत्यु

पाल्पामा विषालु जङ्गली च्याउ सेवनका कारण दुई साताको अवधिमा चार जनाको मृत्यु भएको छ भने १७ जना बिरामी परेका छन्।

निस्दी गाउँपालिका–४ मित्याल भीरपानीका ६२ वर्षीय धनबहादुर परियारको उपचारका क्रममा जेठ ५ गते मृत्यु भएको निस्दी गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख रेमबहादुर दिशा मगरले जानकारी दिनुभयो। परियारले पत्नीसँगै जङ्गलमा पाइने तथा स्थानीय मगरी भाषामा ‘ग्वारु मुगन’ नामले चिनिने च्याउ सेवन गरेपछि बिरामी पर्नुभएको थियो।

उहाँलाई उपचारका लागि नवलपुरस्थित मध्यविन्दु अस्पताल लगिएको थियो। त्यहाँबाट थप उपचारका लागि चितवन मेडिकल कलेज रेफर गरिएको भए पनि स्वास्थ्यमा सुधार नआएपछि घर फर्काइएको थियो। घर फर्किएलगत्तै उहाँको मृत्यु भएको स्वास्थ्यकर्मीहरूले बताएका छन्।

परियारकी ६५ वर्षीया पत्नी उर्मिला परियार भने उपचारपछि स्वास्थ्यलाभ गरी घर फर्किनुभएको छ। मित्यालको भीरपानी स्थायी घर भए पनि दम्पती अरुणखोला क्षेत्रस्थित गोठमा बस्दै आएका थिए।

यसअघि रम्भा गाउँपालिका–५ ताँहु खलकुनकी ६६ वर्षीया विनिमाया कामु मगर, सोही स्थानकी ३७ वर्षीया बालकुमारी खाम्चा तथा तानसेन नगरपालिका–८ मदनपोखराका ८ वर्षीय अनुप रानाको पनि विषालु च्याउ सेवनबाट उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ।

स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलका अनुसार जेठ १ गतेयता जिल्लाका विभिन्न स्थानमा विषालु जङ्गली च्याउ सेवन गरी १७ जना बिरामी परेका छन्। वर्षायाम सुरु भएसँगै जङ्गलमा उम्रिने च्याउ संकलन गरेर खाने परम्पराका कारण यस्ता घटना दोहोरिने गरेको उहाँले बताउनुभयो।

विषालु च्याउको सेवनबाट मानवीय क्षति बढ्न थालेपछि स्वास्थ्य कार्यालय पाल्पाले जिल्लाका सबै स्थानीय तहलाई स्वास्थ्य शिक्षा तथा सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न आग्रह गरेको छ। साथै, जङ्गलमा उम्रिने कुनै पनि च्याउ पहिचानबिना सेवन नगर्न सर्वसाधारणलाई अनुरोध गरेको छ।

चेतनामूलक अभियानअन्तर्गत तानसेन नगरपालिका, रम्भा गाउँपालिका र निस्दी गाउँपालिकाले विद्यालय तथा समुदायस्तरमा पुगेर जनचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन्। तानसेन नगरपालिकाका मेयर सन्तोषलाल श्रेष्ठ सहितको टोलीले जंगली च्याउ बढी पाइने क्षेत्रहरूमा पुगेर सचेतना अभिवृद्धिको अभियान सञ्चालन गरिरहेको जनाएको छ।

यज्ञमूर्ति तिमिल्सिना

अन्य

भिडियो