INSEC Online

📅 २०८३ जेष्ठ २२

स्थानीय र प्रहरीबिच झडप, ६ जना घाइते

पाटन नगरपालिका–६ पाटन बजारमा ग्रेडरले किचेर फागुन २५ गते बेलुका एक विद्यार्थीको मृत्यु भएपछि फागुन २६ गते प्रर्दशनमा उत्रिएका स्थानीय र प्रहरीबिच झडप भएको छ ।

झडपका क्रममा प्रर्दशनकारीले प्रहार गरेको ढुङ्गा लागेर पाँच जना प्रहरी र प्रहरीको लाठीचार्जबाट एक जना विद्यार्थी घाइते भएका छन् ।

४२ वर्षीय असई चन्द्रसिह सामन्त, ४३ वर्षीय असई मानप्रसाद पन्त, ३५ वर्षीय हवल्दार सुरेन्द्रराम दमाई, २६ वर्षीय सुरेन्द्रसिह बोहरा, २६ वर्षीय निर्प साउद र विद्यार्थीतर्फ १८ वर्षीय सिद्ध बोगटी घाइते जिल्ला प्रहरी कार्यालय बैतडीका डिएसपी नेत्रमणी गीरीले बताए ।

फागुन २६ गते बिहानैबाट प्रर्दशनमा उत्रिएका प्रदशनकारीले इलाका प्रहरी कार्यालय पाटनमा तोडफोड गरेको डिएसपी गीरीले बताए ।

प्रदर्शनमा उत्रिएका स्थानीयले जबरजस्ती इलाका प्रहरी कार्यालयमा प्रवेश गरी ढुङ्गामुढा गर्न थालेपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन १८ राउण्ड हवाइफायर र १५ राउण्ड अश्रुग्यास प्रहार गरेको थियो ।

२६ गते साँझ पीडित पक्ष र निर्माण कम्पनीबीच पीडितलाई क्षतिपूर्ति बापत १० लाख रुपियाँ दिने सहमति भएपछि स्थिति सामान्य भएको प्रहरीले जनाएको छ ।

सहमतिपछि बन्द रहेको दशरथ चन्द राजमार्ग समेत सुचारू भएको छ । फागुन २५ गते साँझ ५ बजेतिर पाटनस्थित भीमदत्त पोलिटेक्निल इन्स्च्यिुटमा अध्ययनरत पाटन नगरपालिका २ का १९ वर्षीय पूर्णानन्द पाण्डेयलाई ग्रेडरले किच्दा मृत्यु भएको थियो ।

पीडित परिवारलाई दिने भनिएको १० लाख रुपियाँमध्ये २ लाख रुपियाँ तत्कालै उपलब्ध गराउने, मृतकका परिवारलाई पाटन नगरपालिकाले किरिया खर्च उपलब्ध गराउने, घाइते विद्यार्थीहरूको उपचार लाग्ने खर्च नगरपालिकाले व्योहर्ने, ग्रेडरले भत्काएको घर निर्माण कम्पनीले बनाउने सहमति भएको पाटन नगरपालिकाकी उपप्रमुख सरस्वती कोलीले बताइन् ।

घटनापछि फरार रहेका चालक रतन बुढालाई सातदिन भित्र सम्पर्कमा ल्याउन निर्माण कम्पनीले सहमति जनाएको छ । सहमतिपछि पीडित पक्षले मृतकको शव बुझेका छन् ।

C

photo20190310baitadi (2)

अन्य

भिडियो