सिद्धिचरण नगरपालिकाले औषधि खरिद गरेर वितरण नगर्दा नगरपालिकाभित्रका १० ओटा स्वास्थ्य चौकी र जिल्ला अस्पतालमा औषधि अभाव भएको छ ।
सरकारले निशुल्क वितरण गर्ने अत्यावश्यक औषधि नै अभाव भएपछि स्वास्थ्य चौकी र अस्पतालमा उपचार गर्न आउने बिरामी निजी क्लिनिकमा धाउनु पर्ने बाध्यता छ ।
सरकारले स्वास्थ्य चौकीमा ३७ र जिल्ला अस्पतालमा ७० प्रकारका औषधि निशुल्क उपलब्ध गराउँदै आएको छ । यो सुविधाबाट सिद्धिचरण नगरपालिकाका सर्वसाधारण भने वञ्चित भएका छन् ।
निशुल्क वितरण गरिने अधिकांश औषधि अभाव रहेको जिल्ला अस्पताल रूम्जाटारका प्रमुख मुकुन्दप्रसाद यादवले बताए ।
उनले नगरपालिकाले औषधि खरिद गरेर पठाउनु पर्ने भएपनि हालसम्म उपलब्ध नगराउँदा बिरामीलाई वितरण गर्न नसकिएको बताए ।
नगरपालिकालाई औषधि उपलब्ध गराउन पटकपटक माग गरिए पनि सनुवाइ नभएको यादवको भनाई छ । उनले भने–‘पटकपटक माग गरे पनि सुनुवाइ नै भएन । धेरै समस्या छ ।’
जिल्ला अस्पतालमा उपचार गराउन आएका चिसङ्खुगढी गाउँपालिका–१ रामबहादुर दर्जीले जिल्ला अस्पतालमा औषधि नभएपछि मेडिकलमा किनेर लगेको बताए ।
उनले निशुल्क पाउने औषधि भए पनि अस्पतालमा नभएको स्वास्थ्यकर्मीले बताएपछि मेडिकलमा किनेको गुनासो गरे । दर्जीजस्ता दर्जनौं बिरामी औषधि नपाएर मेडिकलमा किन्न बाध्य छन् ।
नगरपालिकाले भने एक महिना अघि नै टेण्डरमार्फत औषधि खरिद गरिसकेको छ । औषधि खरिद गरेपनि स्वास्थ्य संस्थालाई वितरण गरेको छैन ।
औषधि वितरण नगरेको विषयमा सिद्धिचरण नगरपालिका स्वास्थ्य शाखाका प्रमुख आइतबहादुर राईले प्राविधक कारणले औषधि वितरण हुन नसकेको बताए । उनले ठेकेदारले ल्याउनु पर्ने सबै प्रकारका औषधि नल्याएका कारण वितरण गर्न नसकिएको बताए ।
स्थानीयले भने ठेकेदारसितको अपारदर्शी कामले औषधि अभाव गराउने काम नगरपालिकाबाटै भएको आरोप लगाएका छन् ।
एक महिनाअघि खरिद भएको औषधि नगरपालिकाले स्वास्थ्य संस्थालाई वितरण नगरेर नागरिकलाई उपचारबाट वञ्चित गराएको उनीहरूको आरोप छ । राईले भने चाँडै औषधि वितरण गर्ने प्रतिबद्धता व्यक्त गरे ।