INSEC Online

📅 २०८३ जेष्ठ २१

गुल्मीका २ सय बढी स्थान बाढी र पहिरोको जोखिममा

वैशाख महिनामै निरन्तर ठूलो वर्षा हुन थालेपछि गुल्मी जिल्लाका विभिन्न बस्ती तथा सडकहरू बाढी र पहिरोको उच्च जोखिममा परेका छन् । वर्षासँगै ग्रामीण क्षेत्रका अधिकांश सहायक सडक अवरुद्ध हुने अवस्था सिर्जना भएको छ भने मुख्य सडकहरू समेत पहिरोको जोखिममा परेका छन् ।

जिल्ला सुरक्षा समितिले तयार पारेको “जिल्ला विपद् पूर्वतयारी तथा प्रतिकार्य योजना–२०८२” अनुसार जिल्लाका दुई सयभन्दा बढी स्थान बाढी तथा पहिरोको जोखिममा रहेका छन् । विशेषगरी निस्ती, छल्दी र बडिगाड खोला आसपासका बस्तीहरू डुबान तथा कटानको जोखिममा रहेको जनाइएको छ ।

पहिरोको दृष्टिले संवेदनशील मानिएको गुल्मीमा बर्सेनि मानवीय तथा भौतिक क्षति हुँदै आएको छ । विसं २०६४ र २०८१ मा मुसिकोट क्षेत्रमा मात्रै पहिरोका कारण १० जनाले ज्यान गुमाएका थिए । मुसिकोट नगरपालिकाभित्र मात्रै ५० भन्दा बढी स्थान बाढी तथा पहिरोको जोखिममा रहेको बताइएको छ ।

गत वर्ष मालिका गाउँपालिकामा पहिरोले एकै परिवारका पाँच जनाको ज्यान लिएको थियो भने सत्यवती गाउँपालिकामा २०७६ सालमा गएको पहिरोमा १३ जनाको मृत्यु भएको थियो । उक्त घटनाबाट तीन सयभन्दा बढी परिवार विस्थापित भएका थिए । पटक–पटक प्राकृतिक विपद्ले ठूलो क्षति पुर्‍याए पनि जोखिम न्यूनीकरणका लागि प्रभावकारी र दीर्घकालीन योजना कार्यान्वयन हुन नसकेको स्थानीयवासीको गुनासो छ ।

जिल्ला प्रशासन कार्यालय गुल्मीका सूचना अधिकारी हरि प्रसाद गैरेका अनुसार जोखिमयुक्त स्थानहरूको पहिचान, सडक सञ्चालन तथा सतर्कता अपनाउने कार्य भइरहेको छ । साथै नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीलाई तयारी अवस्थामा राखिएको उहाँले जानकारी दिनुभयो । उहाँका अनुसार यस वर्षको मनसुन प्रतिकार्य योजना निर्माणको काम पनि अगाडि बढाइएको छ ।

वर्षात् सुरु भएसँगै विपद् उद्धारलाई लक्षित गर्दै सशस्त्र प्रहरीले मुसिकोट नगरपालिका–७ वामीमा अस्थायी बेस स्थापना गरेको छ । रुद्रावती बहुमुखी क्याम्पस परिसरमा स्थापना गरिएको उक्त बेसमा सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्म, गुल्मीका सशस्त्र प्रहरी नायब निरीक्षक टोपबहादुर कुमालको कमाण्डमा १५ जनाको टोली खटिएको छ ।

उक्त टोलीले विपद् उद्धार, सडक सुरक्षा तथा जनचेतनामूलक गतिविधि सञ्चालन गर्ने जनाएको छ । सशस्त्र प्रहरी बल ३७ नम्बर गुल्म, गुल्मीका गुल्मपति डिएसपी सुदीप प्रसाईंका अनुसार बेसमा तालिमप्राप्त जनशक्ति परिचालन गरिएको छ र आवश्यक परे माथिल्लो निकायसँग समन्वय गरी गोताखोर टोलीसमेत परिचालन गर्न सकिने व्यवस्था गरिएको छ ।

सदरमुकामबाट टाढा रहेका क्षेत्र नं. १ का बस्तीहरूमा हुन सक्ने विपद्लाई ध्यानमा राखेर वामीमा बेस स्थापना गरिएको जनाइएको छ । गत वर्ष चन्द्रकोट गाउँपालिका–८ मजुवामा पनि यस्तै उद्धार बेस स्थापना गरिएको थियो ।

बडिगाड खोलाको कटानका कारण खेतबारी र बस्तीहरू उच्च जोखिममा परेका छन् । झेदी, भुवाचिदी, सोता, मजुवा, उल्लीखोला, चोरकाटे र खैरेनी लगायतका बजार क्षेत्र डुबानको जोखिममा छन् । त्यस्तै रिडी–रुद्रवेणी–वामी मुख्य सडकखण्डसहित विभिन्न शाखा सडकहरू वर्षेनी पहिरोका कारण अवरुद्ध हुने गरेका छन् ।

टोपलाल अर्याल

अन्य

भिडियो