घरेलु हिंसा घटनाका पीडित महिलालाई कानुनी प्रक्रियामा जानका लागि इन्सेक सुदूरपश्चिम प्रदेश कार्यालय, धनगढीले ०८२ चैत २६ गते आर्थिक सहयोग प्रदान गरेको छ ।
चुरे गाउँपालिका–५ खानीडाँडाकी ३० वर्षीया रमिताकुमारी महतलाई कानुनी प्रक्रियामा जान सहज होस् भन्ने उद्धेश्यले आर्थिक सहयोग रकम प्रदान गरिएको हो ।
पीडित महिलाले पतिको अत्याचार सहन नसकेर कञ्चनपुर जिल्लास्थित साथीसंस्थाको सुरक्षित आवास गृहमा बस्दै आइरहेकी र घरको आर्थिक अवस्था दयनीय भएकाले न्यायिक प्रक्रियामा जानका लागि समस्या भएको भन्दै पीडितले इन्सेकद्वारा सञ्चालित मानव अधिकार सहायता कक्षमा निवेदन दिएपछि इन्सेक सुदूरश्चिम प्रदेश कार्यालय, धनगढीले आर्थिक सहयोग स्वरुप १० हजार रुपियाँ प्रदान गरेको हो ।
चुरे गाउँपालिका–५ खानीडाँडााका ३४ वर्षीय पति बलबहादुर जाग्रीले कुटपिट गर्दा ज्यान जोगाउन दुई छोरासहित सुरक्षित आवास गृहमा बस्दै पीडित महिलाले ०८२ चैत २ गते कैलाली जिल्ला अदालतमा अंश सहित सम्बन्ध विच्छेद मुद्दा दर्ता गर्नुभएको छ ।
आर्थिक अभावका कारण पीडितहरुले न्याय पाउनबाट वञ्चित हुन नपरोस् र पीडितको न्यायमा सहज पहुँच पुगोस् भन्नका लागि इन्सेकले मानव अधिकार सहायता कक्ष मार्फत आर्थिक सहयोग प्रदान गर्दै आएको इन्सेक सुदूरपश्चिम प्रदेश संयोजक खडकराज जोशीले बताउनु भयो ।