भोलि २०८२ फागुन २१ गते प्रतिनिधिसभाको निर्वाचन सम्पन्न हुँदैछ। यो निर्वाचन भदौ २३ र २४ गते नवयुवा पुस्ताले गरेको प्रदर्शनपछि विशेष परिस्थितिमा सम्पन्न हुन लागेको छ । नवयुवाको प्रदर्शनले राज्यप्रति युवापुस्ताको असन्तुष्टि, जवाफदेहिता र सुशासनप्रतिको माग, नागरिक स्वतन्त्रता तथा राजनीतिक उत्तरदायित्वका सवाललाई बलियो रूपमा अघि सारेको थियो। यो निर्वाचन लोकतान्त्रिक प्रक्रियाप्रति जनविश्वास पुनर्स्थापित गर्ने, राजनीतिक वैधता सुदृढ गर्ने र मानव अधिकारप्रतिको प्रतिबद्धतालाई व्यवहारमा अझ सुदृढ गर्ने महत्वपूर्ण अवसरका रूपमा रहेको छ।
मानव अधिकारका दृष्टिले निर्वाचन केवल प्रतिनिधि चयनको प्रक्रिया मात्र होइन; यो नागरिकको सार्वभौम अधिकारको अभ्यास, अभिव्यक्ति स्वतन्त्रता, विचार तथा राजनीतिक आस्थाको स्वतन्त्र प्रयोग, र राज्यको शक्तिमाथि नागरिक नियन्त्रणको संवैधानिक माध्यम हो। बिना भय, धम्की, प्रलोभन, दुरुपयोग वा हिंसारहित वातावरणमा मताधिकार प्रयोग गर्न पाउनु प्रत्येक मतदाताको मौलिक अधिकार हो। स्वतन्त्र, निष्पक्ष र विश्वसनीय निर्वाचन लोकतान्त्रिक शासन र मानव अधिकार संरक्षणको आधारशिला हो।
इन्सेकले निर्वाचनको मौन अवधिदेखि मतदान तथा मतगणनासम्मका गतिविधिहरूको मानव अधिकारका दृष्टले अनुगमन गरिरहेको छ। इन्सेकका २ सय ३० भन्दा बढी पर्यवेक्षकले यो निर्वाचनको पर्यवेक्षण गर्दैछन् । इन्सेकले मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाको अभिलेखका लागि १८१०५०००४३३ नम्बरको टोलफ्री सञ्चालनमा ल्याएको छ । यो नम्बरमा सम्पर्क गरी निर्वाचन आचार संहिता उल्लङ्घन तथा मानव अधिकार उल्लङ्घनका सूचना तथा जानकारी उपलब्ध गराउन सकिनेछ ।
नागरिक सहभागिताले लोकतन्त्रलाई बलियो बनाउँछ । मतदान केवल राजनीतिक कर्तव्य होइन, यो मानव अधिकारको प्रयोग हो। भोलिको निर्वाचनलाई शान्तिपूर्ण, निष्पक्ष र विश्वसनीय बनाउँदै लोकतान्त्रिक मूल्यमान्यता सुदृढ गर्ने सामूहिक प्रयासमा सबैको सक्रिय सहभागिता अपेक्षित छ। हामी सम्पूर्ण राजनीतिक दल, उम्मेदवार, सुरक्षा निकाय र निर्वाचनसँग सम्बन्धित सबै पक्षलाई शान्तिपूर्ण, संयमित र अधिकार–सम्मत आचरण गर्न आग्रह गर्दछौँ। मतदातालाई कुनै किसिमको दबाब, धम्की वा प्रलोभन नदिन तथा सामाजिक सद्भाव र सहिष्णुता कायम राख्न सबैमा अनुरोध छ ।
![]()
विजयराज गौतम
अध्यक्ष