INSEC Online

📅 २०८३ जेष्ठ २१

दलित समुदायप्रति क्षमायाचना र सुधारमुखी कार्यक्रमको स्वागत तथा प्रभावकारी कार्यान्वयनको माग

नवगठित सरकारले २०८२ चैत १६ गते सार्वजनिक गरेको एकसय दिने कार्ययोजनामा दलित तथा ऐतिहासिक रूपमा बहिष्कृत समुदायमाथि राज्य, समाज तथा नीति–निर्माण संरचनाबाट भएका अन्याय र विभेदको औपचारिक स्वीकारोक्ति गर्दै १५ दिनभित्र औपचारिक क्षमायाचनासहित सुधारमुखी कार्यक्रम घोषणा गर्ने प्रतिबद्धता समावेश गरिएकोप्रति नेपाल सरकारलाई इन्सेक धन्यवाद ज्ञापन गर्दछ । कयौँ वर्षदेखि संरचनागत विभेद र बहिष्करणमा परेका दलित समुदायमाथि भएको थिचोमिचोप्रति राज्यको स्वीकारोक्ति सामाजिक न्याय, समावेशी पुर्नस्थापना र ऐतिहासिक मेलमिलापतर्फको सकारात्मक कदमका रूपमा लिन सकिन्छ । विगतमा पनि यस्ता प्रतिबद्धताहरू कार्यान्वयनको अभावमा प्रभावहीन बनेका प्रशस्त उदाहरणहरू छन् । तसर्थ ठोस, समयबद्ध र परिणाममुखी कार्यान्वयन सुनिश्चित गर्न सरकारलाई इन्सेक आग्रह गर्दछ । यस सन्दर्भमा, इन्सेक सरकारसमक्ष निम्न विषयमा विशेष ध्यानाकर्षण गराउन चाहन्छ ।
  • औपचारिक क्षमायाचना र नीतिगत सुधारः औपचारिक क्षमायाचनालाई मात्र प्रतीकात्मक कार्यमा सीमित नराखी यसलाई नीतिगत, कानुनी तथा संस्थागत सुधारसँग जोड्नु पर्छ ।
  • व्यवहारिक सुधार र स्रोत सुनिश्चितताः विभेदको अन्त्य, समान अवसरको सुनिश्चितता, शिक्षा, स्वास्थ्य, रोजगारी र न्यायमा पहुँचको लागि स्पष्ट कार्ययोजना र बजेट सुनिश्चित गर्नुपर्छ ।
  • जातीय भेदभाव विरुद्धका कार्यहरूलाई प्रभावकारी सम्बोधनः जातीय भेदभाव तथा छुवाछूत (कसूर र सजाय) ऐन, २०६८ लाई संशोधन गरी उजुरी दिने हदम्याद हालको तीन महिनाबाट बढाउनुपर्छ, जातीय भेदभावसम्बन्धी उजुरीहरू प्रहरीमा अनिवार्य रूपमा जाहेरी दरखास्त दर्ता हुने सुनिश्चित गर्नुपर्छ, यस्ता घटनाहरूमा निरन्तर अनुसन्धान, अभियोजन र दोषीलाई सजाय सुनिश्चित गर्नुका साथै पीडितलाई उचित उपचार र पूर्ण परिपूरणको व्यवस्था गर्नुपर्छ ।
  • सबै किसिमका जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५ मा राखिएको आरक्षण (Reservation) को पुनरावलोकनः नेपालले सन् १९७१ मा सबै किसिमका जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि, १९६५ अनुमोदन गर्दा राखेका आरक्षणहरू र व्याख्यात्मक घोषणाहरू नेपालको संविधान २०७२ को मर्म विपरीत छन् । महासन्धिको धारा ४ को पूर्ण पालना र धारा ६ बमोजिम प्रभावकारी उपचार र परिपूरण सम्बन्धमा राखेको आरक्षण फिर्ता लिनुपर्छ । साथै धारा १४ बमोजिम नागरिकले जातीय विभेदका विरुद्ध महासन्धि अन्तर्गतको समितिमा व्यक्तिगत उजुरीको लागि महासन्धिको क्षेत्राधिकार स्वीकार गर्नुपर्छ ।
नेपालको संविधान २०७२ ले व्यक्तिगत अधिकारको संरक्षण गरी जातीय भेदभावलाई गम्भीर सामाजिक अपराधको रूपमा स्वीकार गरिसकेको छ । सबै किसिमका जातीय भेदभाव उन्मूलनसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धिको धारा ४ को दायित्वहरूलाई लागू गर्न आवश्यक परे मात्र विधायिक सुधार गर्न सकिने र धारा ६ मा उल्लेखित परिपूरणको अधिकारलाई प्रभावकारी पुर्नस्थापना मार्फत विभेद अन्त्य गर्ने उपायको रूपमा अवलम्बन गर्ने कुरा संयुक्त राष्ट्रसंघमा बताएको अवस्थामा, सङ्कुचित आरक्षण र व्याख्याहरू अन्तर्राष्ट्रिय मानव अधिकार प्रतिबद्धतासँगको मेल खाँदैन । यी आरक्षण र घोषणाहरू पुनरावलोकन गरी महासन्धि अन्तर्गतका सबै दायित्वको पूर्ण र प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न कदम चाल्नु पर्दछ ।
उल्लेखित आरक्षणहरू फिर्ता लिन र महासन्धिको धारा १४ अन्र्तगत व्यक्तिगत उजुरीको अधिकार सुनिश्चित गर्न महासन्धि अन्तर्गतको समितिले आफ्ना निष्कर्ष र सिफारिसमा बारम्बार आग्रह गर्दै आएको तथ्यसमेत सरकारलाई इन्सेक स्मरण गराउन चाहन्छ । सामाजिक न्याय र समावेशिता केवल नीतिगत घोषणा नभई व्यवहारमा देखिने परिवर्तनमार्फत मात्र सुनिश्चित हुन सक्छ । त्यसैले, उक्त प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन, अन्तर्राष्ट्रिय दायित्वहरूको पालना तथा पीडित समुदायप्रति उत्तरदायित्व बहन गर्दै अघि बढ्न सरकारलाई आग्रह गर्दछ । आफ्नो प्रतिबद्धताको प्रभावकारी कार्यान्वयन गर्न, साथै अन्तर्राष्ट्रिय मानव अधिकार संयन्त्रसँगको सहकार्य सुदृढ गर्न नागरिक समाज, मानव अधिकारकर्मी तथा सरोकारवाला सबै पक्षसँग सहकार्य गर्न इन्सेक आह्वान गर्दछ ।
विजयराज गौतम
अध्यक्ष

अन्य

भिडियो