वीरेन्द्रनगरमा ०८२ चैत १६ गते साँझ नेकपा एमाले निकालेको मसाल जुलुसका क्रममा प्रहरी र एमालेका कार्यकर्ताबिच झडप हुँदा दुई दजन बढी नेता कार्यकर्ता र प्रहरी घाइते भएका छन् ।
प्रदर्शनकारीको मुक्का प्रहारबाट नगर प्रहरी कार्यालयका प्रमुख इन्स्पेक्टर राजन भट्टराईको दाँत भाँचिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी मोहनजंग बुढथापाले बताउनु भयो । ‘प्रहरी तर्फ इन्स्पेक्टर र अन्य दुई जना सामान्य घाइते छन् । प्रदर्शनकारीहरु पनि घाइते भएको भन्ने कुरा सुनिन आएको छ । हामीसँग आधिकारीक निवेदन आइसकेको छैन,’उहाँले भन्नुभयो ।
प्रहरीले भिडको सुरक्षा व्यवस्थामा खटिएका आफ्ना इन्स्पेक्टरको दाँत भाँच्ने एमाले कार्यकर्तालाई खोजिरहेको उहाँको भनाइ छ ।
एमाले सुर्खेतका अनुसार घाइतेहरुहरुमा केन्द्रीय सदस्य नवराज रावत, जिल्ला अध्यक्ष अध्यक्ष कुलमणि देवकोटा, उपाध्यक्ष मोहन सिंह बडुवाल, सचिव डम्मर तिवारी, उपसचिव शुसीला विश्वकर्मा, प्रदेश सभाकी पूर्व सांसद राजु नेपाली, वीरेन्द्रनगर नगरपालिकाका उपप्रमुख निलकण्ठ खनाल, वडा नम्बर १६ का वडाअध्यक्ष डण्ड बिक रहेका छन् । त्यस्तै मोति विक, खगेन्द्र गुरुङ, भीमबहादुर खत्री, कमल खड्का (जुनी), मानबहादुर रोकाया, नरबहादुर विसी, छविलाल बादी र जयबहादुर सिंह लगायत ३० जना नेता कार्यकर्ता घाइते भएको एमालेका जिल्ला उपाध्यक्ष मोहनसिंह बडुवालले जानकारी दिनुभयो । उहाँका अनुसार शान्तिपूर्ण आन्दोलन गरेर पार्टी कार्यालयमा बसिरहेका नेता कार्यकर्तामाथि प्रहरीले बलपूर्वक दमन गरेको हो । उक्त विषयमा कानुनी प्रक्रियामा जाने उपाध्यक्ष बडुवालको भनाइ छ । घाइतेहरु सबैको उपचार चैत १६ गते कर्णाली केयर अस्पताल सुर्खेतमा भयो । घाइतेहरु मध्ये दुई जना अझै डिस्चार्ज हुन सकेका छैनन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले चैत १६ गते राति जारी गरेको प्रेस नोट अनुसार सुर्खेत एमालेको संयोजनमा, पार्टी अध्यक्ष केपी ओली गिरफ्तारको विरोधमा ६ बजेतिर वीरेन्द्रनगर नगरपालिका–६ हटिया चोकमा रहेको एमाले पार्टी कार्यालयमा विवाद भएको जनाएको छ ।






