बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तका परिवारले छोरीका हत्यारा सार्वजनिक गर्न माग राखेर कात्तिक २५ गतेदेखि सुरू गरेको धर्ना फागुन १० गते स्थगीत गरेका छन् ।
जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरको मुलगेट अगाडि कात्तिक २५ गतेदेखि सुरू गरिएको धर्ना १ सय ५ दिनपछि स्थगित गरेका हुन् ।
करिब साढे तीन महिनादेखि धर्नामा बसेका निर्मलाका आमा, बुवाकोे स्वास्थ्यमा समस्या देखिएपछि धर्ना स्थगित गरेको पीडित परिवारले जनाएको छ ।
धर्नामा वसेका निर्मलाका बुबा यज्ञराजलाई स्वास्थ्यमा समस्या देखिएपछि यसअघि त्रिवि शिक्षण अस्पताल काठमाडौँमा उपचार गरिएको थियो ।
उनको औषधि सकिएको र निर्मलाकी आमा लक्ष्मीको स्वास्थ्यमा पनि समस्या देखिएपछि उनीहरूले फेरि उपचारका लागि काठमाडौँ जाने तयारी गरेका छन् ।
उनीहरूले उपचारबाट फर्किएर पुनः न्यायका लागि दबाब दिने बताएका छन् । धर्ना स्थगित गर्नुअघि उनीहरूले हत्यारा पत्ता लगाउन माग राखेर निमित्त प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टमार्फत प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाएका छन् ।
भीमदत्त नगरपालिका–२ उल्टाखामकी १३ वर्षीया बालिका निर्मलाको हत्या भएको सात महिना भइसकेको भए पनि हालसम्म हत्यारा पत्ता लग्न सकेको छैन । प्रहरीले अनुसन्धान सूक्ष्म रूपले अघि बढाइरहेको जनाएको छ ।
साउन १० गते साथीको घरमा गएकी निर्मलाको शव साउन ११ गते भीमदत्त नगरपालिका–१८ निम्बुखेडा खोला नजिकै उखुबारीमा भेटिएको थियो ।