नेपालको लोकतान्त्रिक प्रणालीको मजबुत आधार भनेको जागरूक, सचेत र जिम्मेवार मतदाता हुन्। हालै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा कचनकवलदेखि कञ्चनपुरसम्म र महेन्द्रनगरदेखि मनाङसम्मै मत बदर भएको तथ्याङ्कले देखायो । प्रत्येक निर्वाचनमा बदर मतको सङ्ख्या घट्दै जानुपर्नेमा त्यसो नहुँदा बदर मतले चिन्ता बढाउँदै लगेको छ ।
मतदाताको अमूल्य मत खेर नजाओस् भनेर हरेक निर्वाचनका बेला राज्य कोषबाट खर्च गरी मतदाता शिक्षा निर्वाचन आयोगले सञ्चालन गर्दै आएको छ । मतदाता शिक्षामा हुने राज्यको लगानीले सकारात्मक नतिजा भन्दा फरक प्रतिफल दिँदै आएकोले यसले सबै सरोकारवालाहरूलाई चिन्तित बनाएको छ ।
भर्खरै सम्पन्न आम निर्वाचन ०८२ मा मतदाता शिक्षा प्रभावकारी नहुँदा वा मतदाताले आफ्नो अमूल्य मतको उचित प्रयोग गर्न नसक्दा देशभरबाट ६ लाख ९ हजार १५ मत खेर गएको छ । मत खेर जानुले सिङ्गो निर्वाचनको मत परिणामलाई समेत प्रभाव पारेको छ । उपयुक्त उम्मेदवारले प्राप्त गरेको मत बढीभन्दा बढी बदर भएमा उसले पराजयसमेत भोग्नुपर्ने हुन्छ । जसले निर्वाचनमा मतदाताको जवाफदेहितालाई समेत सङ्केत गर्दछ ।
विशेष परिस्थितिका कारण फागुन २१ गते सम्पन्न भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभरबाट प्रत्यक्ष निर्वाचन प्रणालीमा मतदान भएको १ करोड ११ लाख ६८ हजार ३२ मतमध्ये ६ लाख बढी मत बदर भएको छ । त्यसैगरी समानुपातिक निर्वाचन प्रणालीतर्फ १ करोड १२ लाख ८० हजार ८ सय १७ मत खसेकोमध्ये ४ लाख ४५ हजार ५ सय ९२ मत बदर भएको छ । दुवै निर्वाचन प्रणालीतर्फ भएको बदर मतले मतदाता शिक्षाको प्रभावकारीतालाई देखाउँछ । कूल मतदाताको प्रत्यक्षतर्फ ५९ दशमलव ०८ प्रतिशत र समानुपातिक तर्फ ५९ दशमलव ६८ प्रतिशत मत बदर भएको छ ।
हरेक निर्वाचनमा निर्वाचन आयोगसँगै, राजनीतिक दल, उम्मेदवार वा स्वतन्त्र उम्मेदवारले समेत मतदातालाई कसरी सदर मतदान गर्ने भन्ने सिकाउँदै आएका छन् । तर, त्यसको प्रभावकारीतामा मापन नगर्दा भने निर्वाचनमा उल्लेखनिय मत बदर भएको छ ।
मतदाता शिक्षाको कमी हुनु, चुनाव चिन्हहरू मिल्दोजुल्दो हुनु तथा स्वस्तिक छापको मसी लतपतिनु जस्ता कारणले पनि मतहरु बदर भएको विज्ञहरूले बताउँदै आएका छन् । प्रत्यक्ष निर्वाचनमा प्रणालीमा त एउटै भोटले पनि हारजितमा प्रभाव पार्ने भएकाले हालै सम्पन्न निर्वाचनमा देखिएको बदर मतले निर्वाचन प्रक्रियालाई असर पार्नेमा सरोकारवालाहरूले चिन्ता व्यक्त गरेका छन् ।
ठूलो संख्यामा मत बदर हुने प्रवृत्तिले निर्वाचनको वास्तविक जनमतलाई नै प्रभावित पार्ने खतरा रहने भएकाले समेत सरोकारवालामा चिन्ता बढाएको छ । मतदाताको अमूल्य मत विविध कारणले गणनामा समावेश नहुँदा प्रत्येक बालिग मतदाताले आफूले रोजेको प्रतिनिधि नपाउने खतरासमेत बदर मत प्रतिशतले देखाएको छ । मतदानमार्फत भुईमान्छे समेत देशको नीति, निर्माणमा प्रत्यक्ष हकदार हुने अवसरबाट बदर मतका कारण वञ्चित हुनुपर्ने भएकाले निर्वाचन आयोग, राजनीतिक दल, सामाजिक संघसंस्था र निर्वाचन विज्ञहरूको साझा प्रयासमा मतदाता शिक्षा प्रणालीमा सुधार ल्याएर मत बदर सङ्ख्या घटाउनु अत्यन्तै जरूरी छ । जसले लोकतन्त्रलाई बलियो बनाउनेछ ।