बलात्कारपछि हत्या भएकी सुर्खेतकी १६ वर्षीया इनिसा बिकबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोली फागुन २८ गते सुर्खेत पुगेको छ ।
सुर्खेतको जिल्ला प्रहरी कार्यालयले पहिलो चरणको सम्पूर्ण अनुसन्धान जिल्लाबाटै सकिएको भन्दै थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरोको सहयोग लिएको छ ।
प्रहरी निरीक्षकको कमान्डमा ब्युरोको विज्ञ टोली फागुन २८ गते वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कर्यालय सुर्खेतका एसपी सुधिरराज शाहीले बताउनु भयो ।
‘पोस्टमार्टम रिपोर्ट आइसकेको छ । फरेन्सिक ल्याबमा पीडित र पीडक परिवार दुवैजनाको मोबाइल लगायत विद्युतिय सामाग्रीहरु अनुसन्धानका लागि पठाएका छौं,’उहाँले भन्नुभयो, ‘केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टकसिकोजिकल, बायोसेरोलोजिकल परिक्षणका लागि पठाएका छौं। त्यो रिर्पोट आउनसाथ हामी इनिसाको हत्याको अन्तिम निकर्षमा पुग्छौं ।’
एसपी शाहीका अनुसार जिल्ला प्रहरी कार्यालय सुर्खेतमा विज्ञ टोली गठनसंगै कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट पोलिग्राफ गर्ने टोली पनि पुगेको छ । पोलियाग्राफीले मानिसले झुटो बोलेको पत्ता लगाउने र पोस्टमार्टम रिपोर्ट पोलियाग्राफी, कल डिटेल्स लगायत विषयमा विज्ञ टोली आइसकेको एसपी शाहीले बताउनु भयो।