फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा निर्वाचनका लागि फागुन १८ गते राती १२ बजेबाट निर्वाचनको मौन अवधि सुरु भएको छ । आज मौन अवधिको पहिलो दिन हो । लोकतन्त्रको अभ्यास र मतदाता स्वतन्त्रताको सुनिश्चितताको दृष्टिले यो अवधिको विशेष महत्व छ । मौन अवधिलाई केवल निर्वाचनको औपचारिकता मात्र मान्न सकिँदैन; यो समय मतदातालाई बाह्य दबाब, प्रचार वा राजनीतिक प्रभावबाट मुक्त राखेर स्वतन्त्र निर्णय गर्ने वातावरण प्रदान गर्ने उद्देश्यले कायम गरिएको हो । मौन अवधिमा उम्मेदवार, राजनीतिक दल वा तिनका समर्थकहरूले र्याली, सभा, प्रचार सामग्री वितरण, सामाजिक सञ्जाल प्रचार वा कुनै पनि मत प्रभावकारी गतिविधि गर्न पाउँदैनन् । यसले मतदातालाई अन्तिम क्षणसम्म स्वतन्त्र र विवेकपूर्ण निर्णय लिन अवसर दिन्छ । लोकतन्त्रको शुद्ध अभ्यास सुनिश्चित गर्न मौन अवधिको पालन अनिवार्य छ ।
निर्वाचन आयोगले यस अवधिको पालना सम्बन्धी स्पष्ट निर्देशन जारी गरेको छ । आयोगको निर्देशनअनुसार, मौन अवधिको उल्लङ्घन गर्ने उम्मेदवार, राजनीतिक दल वा समर्थकलाई कानुनी कारबाहीको दायरामा ल्याइनेछ। यसका साथै सुरक्षा निकायहरूले मतदान केन्द्र, मतदान मार्ग र सार्वजनिक स्थानमा निगरानी बढाएका छन् ताकि निर्वाचनको वातावरण शान्तिपूर्ण र सुरक्षित रहोस् । यसले मतदातामा सुरक्षा र विश्वासको भावना सिर्जना गर्नेछ ।
मौन अवधिको महत्व केवल औपचारिक कानुनी पक्षमा सीमित छैन । यसले मतदातालाई दबाबविना आफ्नो विचार र प्राथमिकताअनुसार निर्णय लिन अनुमति दिन्छ । यस अवधिमा मतदाताले आफूले रोज्ने उम्मेदवार र राजनीतिक दलको मूल्यांकन गर्ने पर्याप्त समय पाउँछन् । नेपालमा प्रतिनिधिसभा निर्वाचन जनताको अधिकारको प्रयोग र लोकतन्त्रको मजबुतीकरणको अवसर हो । मौन अवधि यस अवसरको महत्वपूर्ण अङ्ग हो । यसले राजनीतिक दल र नेताहरूलाई जिम्मेवार अभ्यासको शिक्षा दिन्छ भने मतदातालाई आफ्नो मत प्रयोगमा स्वतन्त्रता र विवेकको अभ्यास गर्न प्रेरित गर्छ । यस अवधिको पालना नगर्नु केवल कानुनी उल्लङ्घन मात्र होइन, लोकतन्त्रको मूल्य र जनताको अधिकारमा असर पुर्याउने कार्य हो ।
निर्वाचन तयारीका सन्दर्भमा देशभर विभिन्न गतिविधिहरू भए । दुर्गम क्षेत्रमा मतदान केन्द्रहरुमा मतदान कर्मचारी, मतपेटिका लगायतका सामग्रीहरू पुर्याउने कार्य आज दिनभर जारी रह्यो । आज देशका विभिन्न स्थानमा फेला परेका शंकास्पद वस्तुहरू सुरक्षाकर्मीले नष्ट पारे । विष्फोटक पदार्थ विष्फोटन हुँदा सर्वसाधारण घाइते भएका समाचारहरु प्रकाशन भए ।